2026 April 24/ 12:42: 43pm

धुलिखेल/२०७४ साल असोज ७ गते शिल्यान्यास गरिएको पनौती नगरपालिका वडा नम्वर ५ सुब्बागाउँको मुक्तिनाथ मन्दिर दशैको पञ्चमी तिथी अथार्त असोज २५ गते सोमबार शुभारम्भ गरिएको छ । मन्दिर शुभारम्भ सँगै सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
    स्वामी कमलनयानाचार्यद्वारा शिल्नयान्यास गरिएको मुक्तिनाथ मन्दिरको शुभारम्भ कमलनयानाचार्यबाटै भएको छ । ‘मन्दिरको पूर्वाधार निर्माण सम्पन्न भएको छ, प्राणप्रतिष्ठा गरेर बैदिक विद्यी अनुसार नियमित पुजा शुरु गरिएको छ’– मन्दिर निर्माण ब्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर थापाले भन्नुभयो–‘निर्माणका अधिकांश कामहरु सम्पन्न भएका छन् । प्राण प्रतिस्ठा सहति मन्दिर दर्शनका लागि खुल्ला गरिएको छ।’ मुक्तिनाथ मन्दिरका अलावा मन्दिरमा बस्ने पुजारी भवन, पानीका लागि डिप बोरिङ्ग, २७ हजार लिटर क्षमता भएको पानी ट्याङ्की २ वटा, बहुउदेश्यिय भवन, शौचालय, धारामा नुहाए पछि महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, पोखरी, १ सय ८ धारा र बगैचा निर्माणको कार्य सम्पन्न भएको अध्यक्ष गोपालबहादुर थापाले बताउनु भयो । बैदिक विधि अनुसार ब्रम्हाणहरुले पाठ पारायण गरी स्वामी कमलनयानाचार्यबाट उक्त मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो । 
    ‘मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रुपमा स्थापना गरिएको यो दोश्रो मन्दिर रहेछ’–अध्यक्ष थापाले भन्नुभयो–‘तीन तल्ले यो मन्दिरमा प्राण प्रतिष्ठासँगै दुई वटा पाटी, १०८ धारा, महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, बाथरुम, बहुउद्देश्यिय भवन, मन्दिर प्रवेशद्धार, प्रवेशद्धारबाट मन्दिरसम्म जाने सिँढी, वरिपरी वाल सहितको कम्पाउण्ड लगायतका अन्य संरचनाहरु निर्माण सम्पन्न भईसकेका छन् ।’ मन्दिर भित्र प्रवेश गरे लगत्तै भक्तजनहरुको मनमा आनन्द उत्पन्न हुने छ । २०७७ भित्र निर्माण कार्य सम्पन्न गरी प्राण प्रतिष्ठा गर्ने योजनामा कोभिड तथा अन्य केहि प्राविधिक कारण रहेको अध्यक्ष थापाले बताउनु भयो । यसैवर्ष माघ महिनामा शुरु हुने पनौतीको १२ वर्षे मकर मेलामा देशभरका झत्तजनहरुले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने अवसर प्राप्त गर्नेछन् । दाताहरुको सहयोग, स्थानीय सरकार पनौती नगरपालिका, प्रदेश सरकारको समेत सहयोगमा निर्माण भईरहेको मन्दिरका लागि रकम अभाव टार्न दाताहरुको सक्रियता रहेको अध्यक्ष थापाले बताउनु भयो । मन्दिर निर्माणका लागि दाताहरुले विभिन्न क्षेत्रबाट सहयोग पु¥याउन सक्ने अध्यक्ष थापाले बताउनु भयो । मन्दिर निर्माणका लागि पनौती नगरपालिकाले २४ लाख ३७ हजार, बागमती प्रदेश सरकारबाट २३ लाख ६६ हजार, स्थानीय छलेश्वर ठुल्ढुङ्का सामुदायिक वनबाट ३ लाख, भागवत महापुराणबाट २ लाख ८९ हजार, नागरिक स्तरबाट १ करोड ६ लाख गरी १ करोड ६७ लाख ५ हजार २ सय ४० रुपैया आम्दानी भएको छ ।  
    मन्दिर निर्माणसँगै आवश्यक पर्ने अन्य भवनहरु निर्माण गरी मन्दिर संचालनमा ल्याउने तयारी गरिएको छ । विभिन्न क्षेत्रका दाताहरुको सहयोगमा निर्मित मन्दिरमा साँझको समयमा भजन किर्तन गर्न सकिने छ भने दैनिक एक घण्टा प्रवचन गरिने छ’–अध्यक्ष थापाले भन्नुभयो– ‘मन्दिरमा आयोजना हुने विवाह, व्रतवन्ध तथा अन्य धार्मिक कार्यमा सहभागि हुने ब्यक्तिहरुको सहजताका लागि पनि बहुउदेश्यिय भवन बहुउपयोगि हुनेछ ।’ भवनमा मुक्तिनाथ धामको पुजाको विधी गर्न सक्ने आचार्य पण्डीतका लागि स्थायी बसोबासको ब्यवस्था गरी मन्दिरको नित्य पूजा गरिनेछ ।