धुलिखेल/नेपाल स्वास्थ्य प्राविधिक संघ काभ्रेले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
अध्यक्ष सन्दिप केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय समितिका उपाध्यक्ष हरि जिरेलको प्रमुख आतिथ्यता रहेको थियो । स्वास्थ्यकर्मीहरुको हक हित र अधिकारसँगै नागरिकहरुको स्वास्थ्यप्रतिको अधिकारलाई स्थापित गर्न संघले खेलेको भुमिकालाई फराकिलो बनाउँदै जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई राज्यले विभेद गरेको प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष जिरेलले बताउनु भयो ।
कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य श्याम ओलीले सरकारले स्वास्थ्यकर्मीहरुलाई ऐनमै भएको अधिकार समेत उपलब्ध नगराएको बताउनु भयो । समायोजनका नाममा स्वास्थ्यकर्मीहरुलाई असहज बनाईएको बताउँदै ओलीले तत्काल समायोजनमा सहज बनाउन, स्थानीय र प्रदेश सरकारलाई दरबन्दी नलुकाई समायोजन अनुसारको दरवन्दीमा पदपूर्ति गर्न, आफै क्लिनिक खोल्न पाउने ब्यवस्था गर्न माग गरेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी कुटिएर पनि सेवा दिईरहेको बताउँदै त्यस्ता गतिविधिमा संलग्नलाई कारवाही गर्न नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष सरोज थापाले सरकारसँग माग गरेका थिए । आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष गायत्रीरमण घिमिरेले सबै खालका कर्मचारीहरुको एउटै आवाजका लागि आधिकारिक ट्रेड युनियन भए पनि निजामति ऐन सरकारले संसदबाट फिर्ता लिएर गलत गरेको बताउनु भयो । समयमै पास गर्नुपर्ने ऐन फिर्ता लिएर सरकारले कर्मचारीहरुको हक अधिकार हनन गरेको बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य प्राविधिक संघ धुलिखेल, नमोबुद्ध र खानिखोलाका समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । नेपाल पत्रकार महासंघ काभ्रे शाखा निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष पुरुषोतम तिमल्सिना, नेपाल स्वास्थ्य प्राविधिक संघका नमोबुद्ध संयोजक बलराम पौडेल, धुलिखेल संयोजक अविनास क्षेत्री, खानिखोला संयोजक चन्द बबहादुर लुङ्गेली मगर, संघका निर्वतमान अध्यक्ष राजदास काफ्ले, नवराज दाहाल, संघका कोषाध्यक्ष झलक दर्लामी, कृष्ण आले मगर लगायतले संघले खेलेको भूमिकाका बारेमा मन्तब्य राख्नु भएको थियो । अध्यक्ष सन्दिप केसीले जिल्लामा संघले कोभिड महामारीका बीच पनि गरिरहेको कार्यक्रम र स्वास्थ्यकर्मीहरुको अधिकारका लागि खेलेको भुमिकाका बारेमा बताउँदै जिल्लाका सबै पालिकामा कमिटीहरु गठन गरी प्रशिक्षण दिने बताउनु भयो । जिल्लामा १ हजार ३ सय स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।









