2026 April 24/ 12:44: 14pm

१ सय ५० नागरिकको उद्धार, ५० ब्यक्तिको पुर्नस्थापना
    धुलिखेल/मानव कल्याण समाज(सेवा घर) धुलिखेलको प्रथम बार्षिकोत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले मानव सडकमा पुग्नु र पु¥याउनु दुःखदायी भएको बताउँदै नागरिकहरुको उद्धार, संरक्षण र पुर्नस्थापना गर्ने सरकारको दायित्वमा मानव कल्याण समाजले गरेको योगदानको प्रसंशा गर्नुभयो । सेवाघरमा रहेका ब्यक्तिहरुलाई परेको समस्यामा धुलिखेल नगरपालिका अभिभावक रहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले सेवा घरलाई आवश्यक पर्ने पूर्वाधारको ब्यवस्थापनमा नगरपालिकाले सहजीकरण गर्ने बताउनु भयो । कार्यक्रममा उपप्रमुख विमला शर्मा, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार, धुलिखेल नगरपालिका वडा नम्वर ४ का अध्यक्ष रविन्द्र कर्माचार्य, टिकटक समुहका सदस्य टिकाप्रसाद तिमल्सिना लगायतले मानव कल्याण समाजको मानवीय सहयोगको प्रसंशा गरेका थिए । 
    संस्थाका अध्यक्ष सुमित्रा चौलागाईले धुलिखेलमा स्थापना गरिएको सेवा घरले १ सय ५० जना नागरिकहरुलाई सडकबाट उद्धार गरी ५० जनालाई सेवा घर मार्फत पुनर्मिलन गराईएको बताउनु भयो । ति मध्ये ७ जनाको निधन भएकाले सेवा घरबाटै अन्तिम संस्कार गरिएको छ । ४५ जना अहिले सेवाघरबाट सेवा लिईरहेको अध्यक्ष चौलागाईले बताउनु भयो । परिवारकै कारण जीवन रुपान्तरणको अभियानमा उपचार खोजीरहेका नागरिकहरुलाई संरक्षण, उपचार र परिवार खोजीमा रहेका नागरिकहरुलाई सेवा गर्न पाउँदा आनन्द मिलेको उहाँले बताउनु भयो । कार्यक्रममा संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनेहरुलाई सम्मान गरिएको थियो । उपचार खोज्दा उपचार लाग्दैन, परिवार खोज्दा परिवार भेटिदैन त्यस्ता ब्यक्तिहरुलाई अभिभावकको जरुरी रहेको अध्यक्ष चौलागाईले बताउनु भयो । सोहि अवसरमा सेवा घरले तयार गरेको ‘सेवा घरमा जाम’ भन्ने बोलको गीत विमोचन गरिएको थियो ।