बनेपा/नेपालमा पहिलोपटक रेबिज रोग नियन्त्रणका लागि संकल्प प्रस्ताव जारी गरिएको छ ।
धुलिखेलमा सरोकारवालाबिचको छलफल र सुझावपछि सबैले आ–आफ्नो क्षेत्रबाट कार्यान्वयन गर्ने प्रतिबद्धता सहित ४ बुँदे संकल्प प्रस्ताव जारी गरिएको हो । कार्यक्रममा पशु सेवा विभागकी महानिर्देशक डाक्टर दमयन्ती श्रेष्ठ, कृषि तथा पशुपक्षीं विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्मा, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु, काभ्रे जिल्लाका स्थानीय तहका प्रमुख,उप–प्रमुख लगायत सरोकारवालको उपस्थिती रहेको थियो । संकल्प प्रस्तावमा वि.सं. २०८७ सम्ममा कुकुरको टोकाईका कारण रेबिज रोगबाट हुने मानव मृत्युलाई शुन्यमा पुर्याउने अभियानको सफलताका लागि आ–आफ्नो तहबाट कार्ययोजना तय गरी सोहि अनुसार कार्य गर्ने उल्लेख छ । यस्तै रेबिज रोग नियन्त्रणका लागि आवश्यक पर्ने साधनश्रोत, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुर दर्ता, बन्ध्याकरण र फोहोरमैला व्यवस्थापन लगायतका कार्यबाट सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्ने, तीन तहका सरकारहरु र अन्य सरोकारवाला निकायबिच एकआपसमा हातेमालो गर्दै सहयोग गर्ने तथा आवश्यक खोप र क्षमता अििभवृद्धिका कार्य संघिय सरकारले व्यवस्थापन गर्ने संकल्प प्रस्तावमा उल्लेख छ । यसैगरी रेबिज रोगबारे जनचेतनामुलक कार्य गर्न सन्चार क्षेत्रको अधिकतम उपयोग गर्ने पनि जनाइएको छ । नेपालमा ९५ प्रतिशत भन्दा बढी रेबिज रोग संक्रमित कुकुरको टोकाइबाट हुने गरेको छ । नेपालमा रेबिजका कारण हरेक वर्ष १ सय मानिसको ज्यान जाने गरेको अनुमान गरिएको छ । कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्माले रेविजविरुद्धको कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने बताएका छन् ।
स्थानीय तहमा रेविज रोग नियन्त्रणका लागि महत्वपूर्ण काम भएपनि त्यसको प्रचार प्रसार हुन नसकेको उनको भनाई छ । उनले तीनै तहका सराकर र सरोकारवालाबिचको समन्वयमा २०८७ सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिजलाई शुन्यमा पुर्याउने अभियान सफल पार्ने बताए । यस्तै धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले दिगो विकास लक्ष्यसँगै जोडेर पशु स्वास्थ्यका कार्यक्रम पनि संचालन गर्नुपर्नेमा जोड दिए । उनले रेविजविरुद्धको खोप अभियान सफल पार्न पुर्ण सहयोग रहने प्रतिवद्धता समेत जनाएका छन् । यस्तै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले लक्ष्यसँग मेल खानेगरी उपयुक्त नीति बनाई कार्यक्रम गर्नुपर्ने बताए । स्रोतसाधन, जनशक्ति व्यवस्थापन लगायतका विषयमा स्थानीय तहको भुमिका महत्वुर्ण हुने उनको भनाई छ । रेविज रोग विरुद्धको कार्यक्रम काभ्रेबाट सुरुवात भएकोमा उनले खुसी व्यक्त गरेका छन् । काभ्रेमा पछिल्लो समय कुकुरको टोकाइका घटना बढेको तथ्यांकले देखाएको छ । काभ्रेमा कुकुरको टोकाइबाट ४ जनाको ज्यान गएको छ । सर्वसाधारणमा कुकुर र मानिसमा खोप लगाउने विषयमा अपर्याप्त ज्ञान रहेको समेत पाइएको छ ।









