2026 April 24/ 10:48: 33am

विकास तिमल्सिना/पनौती
    पनौती नगरपालिकाले विविध कार्यक्रम सहित विश्व पशुपंक्षी दिवस मनाएको छ । पनौती नगरपालिका वडा नम्बर ८ स्थित मल्पी पशुपालन कृषक समुहद्वारा संचालित फार्ममा गरिएको कार्यक्रममा उक्त फर्ममा रहेका भैंसीलाई खोरेत रोगको खोप लगाइएको थियो भने पशुका लागि आवश्यक औषधि र घाँस समेत वितरण गरिएको थियो । सामुहिक रुपमा पशुपालन गरिएको फार्म जिल्लाकै नमुनाको रुपमा रहेको छ । ३० जना व्यक्ति र हिमशिखर बहुउदेश्यीय सहकारी मार्फत सन्चालित फार्ममा अहिले १८ ओटा भैसीं, ११ ओटा पाडापाडी, १ ओटा गाइ र एउटा राँगो रहेका छन् । पशु पालनसँगै उनीहरुले तरकारी खेती पनि सुरु गरेका छन् । २३ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती समेत सुरु गरिएको समुहका अध्यक्ष दिनेश बजगाँईले बताए । उक्त फार्मका लागि पनौती नगरपालिकाले २ लाख रुपैया अनुदान दिएको छ भने निरन्तर रुपमा प्राविधिक सहयोग, घाँसको विउ लगायतका कृषि सामाग्री उपलब्ध गराउँदै आएको छ । 
    कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले पनौती नगरपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताउनु भयो  । कृषकको समृद्धिबिना नगरपालिकाको समृद्धि सम्भव नरहने कुरामा नगरपालिका स्पष्ट रहेको न्यौपानेले बताउनु भयो  । नगरपालिकाको स्रोत र साधनको अवस्थाका आधारमा गर्नु पर्ने सहयोग गर्दे आएको र आगामी दिनमा पनि गर्ने न्यौपानेको े भनाई छ । नगरपालिकाले अनुगमन गरेपछि मात्रै अनुदान दिने भएकाले अहिले वास्तविक किसान बाहेक अरुले अनुदान प्राप्त गर्ने सम्भावना नरहेको पनि नगर प्रमुख न्यौपानेको भनाई छ । कार्यक्रममा कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणिप्रसाद सापकोटाले नगरपालिकाले सबैको सहभागिता हुनेगरी व्यस्थित र पारदर्शि रुपमा कृषि तथा पशुपक्षीं क्षेत्रका काम गरिरहेको बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद वाग्ले, वडा नम्बर ८ का वडा अध्यक्ष केशव बञ्जारा लगायत कृषकहरुको सहभागिता रहेको थियो ।