धुलिखेल/चौरीदेउराली गाउँपालिका मादनकुँडारीका ३२ बर्षीय राम लामाले काठमाडौ विश्वविद्यालयबाट हाईड्रो टर्वाईन डिजाईनमा विद्यावारिधी गर्नु भएको छ । विहिबार काठमाडौ विश्वविद्यालयले प्रकाशन गरेको नतिजामा लामाले विद्याबारिधी उपाधी प्राप्त गर्नु भएको हो । चौरीदेउराली गाउँपालिकाबाट लामा प्राविधिक विषयमा विद्यावारिधी उपाधी प्राप्त गर्ने पहिलो ब्यक्ति हुन् ।
सरकारी विद्यालयबाट एसएलसीसम्मको अध्ययन सकेर काठमाडौं विश्वविद्यालयमा +२ देखि ब्याचलरसम्म अध्ययन गरी विश्वविद्यालयमै उत्कृष्ट भएका रामले भारतको जेएनटियु मास्र्टस इन मेकानिकाल इन्जिनियर कलेजबाट मास्टर्स उत्र्तिण गरेका थिए । उत्कृष्ट भएकाले लामाले एसएलसी पछिका सबै अध्ययनका लागि छात्रबृत्ति प्राप्त गरेका हुन् । काठमाडौ विश्वविद्यालयले विद्याबारिधीका लागि पनि छात्रबृत्ति उपलब्ध गराएको थियो । ११ जना विद्यार्थीले प्रतिस्पर्धा गरेको भए पनि राम लामाले मात्रै पिएचडीका लागि अध्ययन गर्ने अवसर प्राप्त गरेका थिए । जुम्ल्याहा राम र लक्ष्मण दुवै इन्जिनियर थिए । लक्ष्मण वातावरण विषयका इन्जिनियर हुन् । राम मेकानिकल इन्जिनियर । राम र लक्ष्मणले आफ्नै लगानीमा काठमाडौं हाईड्रो इलेक्ट्रिक प्रालि, काठमाडौ अटो इन्जिनियरिङ्ग प्रालि र काठमाडौ हाईड्रो सोलुसन प्रालि संचालन गरिरहेका छन् । राम तीनवटै कम्पनीका कार्यकारी अध्यक्ष हुन् ।
‘नेपालमा रहेका जनविद्युतहरु ठिक ढंगले संचालन गर्न अनुसन्धान गर्न, जलविद्युत आयोजना नियमित संचालनका लागि सहजता प्रदान गर्न अनुसन्धानमुलक विद्यावारिधीले सहयोग पुग्नेछ’–उपाधी प्राप्त डा. राम लामाले भन्नुभयो–‘पिएचडी हुनु अगावै पनि म काठमाडौ विश्वविद्यालयमा बरिष्ठ अनुसन्धानकर्ताका रुपमा केहि वर्ष देखि कायरत थिएँ । अनुसन्धानलाई अझै प्रभावकारी बनाउने प्रण गरेको छु ।’ शैक्षिक क्षेत्रसँगै देशका जलविद्युत आयोजनाहरुमा आईपर्ने समस्या समाधानका लागि काठमाडौ हाईड्रो सोलुसन प्रालिले काम गर्ने डा. राम लामाले बताउनु भयो । ‘शैक्षिक र ब्यवसायीक कार्य एकैपटक अघि बढाउने निर्णयका साथ पाँचखालमा २७ रोपनी जमिन खरिद गरी २५ करोड लगानीमा उक्त कम्पनी साझेदारीमा स्थापना गरिएको हो’–उहाँले भन्नुभयो–‘अध्ययनसँगै ब्यवसायीक ज्ञानको अभाव हुन नदिन ब्यवसायलाई प्राथमिकतामा राखिएको हो ।’
देशभर धमाधम जलविद्युत आयोजनाहरु संचालन हुन थालेका छन् । जलविद्युत आयोजनाहरुमा आईपर्ने समस्या समाधानका लागि काठमाडौ हाईड्रो सोलुसन प्रालिले दक्ष जनशक्ति सहितको सेवा शुरु गर्न थालेको हो । अध्ययनसँगै डा. राम लामाले काठमाडौ विश्वविद्यालयको लगानीमा मादनकुँडारीमा २५ किलोवाट क्षमताको विद्युत उत्पादन गर्ने २५ लाख लगानीको लघु जलविद्युतको टर्वाईन डिजाईन गरी संचालनको तयारीमा जुटेको बताउनु भयो । अध्ययनसँगै आफ्नो जन्मथलोमा केहि गरौ भन्ने उदेश्यले उक्त आयोजना त्यहाँ संचालन गरिएको डा. रामले बताउनु भयो ।
‘अध्ययनसँगै ब्यवसायीक ज्ञानलाई अभाव हुन दिदैनौ’–डा. रामले भन्नुभयो–‘उद्योग संचालन गरी गुणस्तर सँगै प्रविधि भित्र्याउने योजना बनाएका छौं ।’ सरकारी विद्यालयको अध्ययनलाई कमजोर नसम्झन अनुरोध गर्दै डा. रामले आफ्नो मेहनत र परिश्रम प्रमुख कुरा रहेको बताउनु भयो । भाषाको कमजोरी पनि सामान्य रहेको बताउँदै लामाले सक्षम, उत्प्रेरणा र पारिवारीक वातावरण सहज हुँदा जस्तोसुकै अवस्थामा पनि विद्यार्थी सफल हुने बताउनु भयो । डा. राम र इन्जिनियर लक्ष्मणका बुबा खाईवा लामा समाजसेवी हुनुहुन्छ । सामान्य अक्षर समेत अध्ययन गर्न नपाउनु भएका खाईवाले समाजसेवा मार्फत थुप्रै बालबालिकाहरुलाई अध्ययनको अवसर दिईरहनु भएको छ । तत्कालिन मादनकुँडारी गाविसको स्वस्थानी निमाविमा कक्षा ८ सम्म, महेन्द्र माविमा कक्षा १० सम्म अध्ययन गरी २०६२ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेका रामले आईएस्सी काठमाडौ विश्वविद्यालयमा अध्ययन गर्नु भएको थियो । मेकानिकल इन्जिनियर विषयमा काठमाडौ विश्वविद्यालयमा ब्याचलर तहमा अध्ययन गरी उत्कृष्ट हुनु भएका रामले रसुवामा रहेको हाईड्रोपावरमा दुई वर्ष काम गर्नुभयो । भारतीय दुताबास मार्फत छात्रबृत्तिबाट मास्टर्स उत्तिर्ण गर्नुभएको थियो । विश्वविद्यालयमा अध्ययन र अनुसन्धानमुलक कार्य एकै पटक गर्नु भएका लामाले हाईड्रो टर्वाइन डिजाइनमा पिएचडी गर्नु भएको हो । रामले सानै उमेरमा पिएचडी गरे पछि घरमै बधाई दिन आउने शुभचिन्तक र आफन्तहरुको घँुईचो लागेको छ । सदरमुकाम धुलिखेलबाट ६० किलोमिटर टाढा जन्मेका राम चौरीदेउराली गाउँपालिकाको पहिलो प्राविधिक डाक्टर बनेकोमा सबै क्षेत्रको बधाई प्राप्त हुन थालेको छ । सिकेको सिप र ज्ञानलाई मुलुकको समृद्धिमा लगाउने डा. रामले बताउनु भयो । युवापुस्तालाई अध्ययनसँगै उद्यमशीलतातर्फ जोड्ने अभियानमा केन्द्रित हुने उहाँको भनाई थियो ।









