असोज २५ देखि सर्वसाधारणका लागि खुल्ला
पनौती÷२०७४ साल असोज ७ गते शिल्यान्यास गरिएको पनौती नगरपालिका वडा नम्वर ५ सुब्बागाउँको मुक्तिनाथ मन्दिर दशैको पञ्चमी तिथी अथार्त यहि असोज २५ गते सोमबारबाट शुभारम्भ गर्न लागिएको छ । स्वामी कमलनयानाचार्यद्वारा शिल्नयान्यास गरिएको मुक्तिनाथ मन्दिरको शुभारम्भ पनि उहाँबाट नै गरिनेछ ।
‘मन्दिरको पूर्वाधार निर्माण सम्पन्न भएकाले असोज २५ गते प्राणप्रतिष्ठा गरेर बैदिक विद्यी अनुसार नियमित पुजा शुरु हुनेछ’– मन्दिर निर्माण ब्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर थापाले भन्नुभयो–‘निर्माणका केहि कामहरु बाँकी छन् । ९५ प्रतिशत कार्य सम्पन्न भएको छ । प्राण प्रतिस्ठा सहति मन्दिर दर्शनका लागि खुल्ला गरिनेछ ।’ मुक्तिनाथ मन्दिरका अलावा मन्दिरमा बस्ने पुजारी भवन, पानीका लागि डिप बोरिङ्ग, २७ हजार लिटर क्षमता भएको पानी ट्याङ्की २ वटा, बहुउदेश्यिय भवन, शौचालय, धारामा नुहाए पछि महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, पोखरी, १ सय ८ धारा र बगैचा निर्माणको कार्य सम्पन्न भएको अध्यक्ष गोपालबहादुर थापाले बताउनु भयो ।
‘मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रुपमा स्थापना गरिएको यो दोश्रो मन्दिर रहेछ’–अध्यक्ष थापाले भन्नुभयो–‘तीन तल्ले यो मन्दिरमा प्राण प्रतिष्ठासँगै दुई वटा पाटी, १०८ धारा, महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, बाथरुम, बहुउदेश्यि भवन, मन्दिर प्रवेशद्धार, प्रवेशद्धारबाट मन्दिरसम्म जाने सिँढी, वरिपरी वाल सहितको कम्पाउण्ड लगायतका अन्य संरचनाहरु निर्माण सम्पन्न भईसकेका छन् ।’ मन्दिर भित्र प्रवेश गरे लगत्तै भक्तजनहरुको मनमा आनन्द उत्पन्न हुने छ । २०७७ भित्र निर्माण कार्य सम्पन्न गरी प्राण प्रतिष्ठा गर्ने योजनामा कोभिड तथा अन्य केहि प्राविधिक कारण रहेको अध्यक्ष थापाले बताउनु भयो । यसै वर्ष माघ महिनामा शुरु हुने पनौतीको १२ वर्षे मकर मेलामा देशभरका झत्तजनहरुले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने अवसर प्राप्त गर्नेछन् । दाताहरुको सहयोग, स्थानीय सरकार पनौती नगरपालिका, प्रदेश सरकारको समेत सहयोगमा निर्माण भईरहेको मन्दिरका लागि रकम अभाव टार्न दाताहरुको सक्रियता रहेको अध्यक्ष थापाले बताउनु भयो । मन्दिर निर्माणका लागि दाताहरुले विभिन्न क्षेत्रबाट सहयोग पु¥याउन सक्ने अध्यक्ष थापाले बताउनु भयो ।
१ करोड ६७ लाख संकलन
मन्दिर निर्माणका लागि पनौती नगरपालिकाले २४ लाख ३७ हजार, बागमती प्रदेश सरकारबाट २३ लाख ६६ हजार, स्थानीय छलेश्वर ठुल्ढुङ्का सामुदायिक वनबाट ३ लाख, भागवत महापुराणबाट २ लाख ८९ हजार, नागरिक स्तरबाट १ करोड ६ लाख गरी १ करोड ६७ लाख ५ हजार २ सय ४० रुपैया आम्दानी भएको छ ।
मन्दिरको बृहत्त योजना
मन्दिर निर्माणसँगै आवश्यक पर्ने अन्य भवनहरु निर्माण गरी मन्दिर संचालनमा ल्याउने तयारी गरिएको छ । विभिन्न क्षेत्रका दाताहरुको सहयोगमा निर्मित मन्दिरमा साँझको समयमा भजन किर्तन गर्न सकिने छ भने दैनिक एक घण्टा प्रवचन गरिने छ’–अध्यक्ष थापाले भन्नुभयो– ‘मन्दिरमा आयोजना हुने विवाह, व्रतवन्ध तथा अन्य धार्मिक कार्यमा सहभागि हुने ब्यक्तिहरुको सहजताका लागि पनि बहुउदेश्यिय भवन बहुउपयोगि हुनेछ ।’ भवनमा मुक्तिनाथ धामको पुजाको विधी गर्न सक्ने आचार्य पण्डीतका लागि स्थायी बसोबासको ब्यवस्था गरी मन्दिरको नित्य पूजा गरिनेछ ।
निरन्तर समाज सेवामा
साविक सुब्बागाउँ गाविस निवासी गोपालबहादुर थापाको पेशा नै समाज सेवा हो । सामुदायिक बन, रेडक्रस लगायतका क्षेत्रमा कृयाशिल थापा साविक सुब्बागाउँ गाविसका अध्यक्ष, पनौती नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो ।
विभिन्न क्षेत्र मार्फत थापाले सामाजिक अभियानमा आफुलाई निरन्तर कृयाशिल बनाई रहनु भएको छ । गम्भिर प्रकृतिको रोगसँग लडिरहनु भएका थापाको ईच्छाा नै मन्दिरको निर्माण कार्य सम्पन्न गरी प्राण प्रतिष्ठा गर्नु हो । त्यसका लागि थापाले सहयोगि दाताहरुसँग मन्दिरका लागि आवश्यक पर्ने रकम तथा अन्य सामाग्री जुटाउन कृयाशिल रहनु भएको छ । मुस्ताङ्ग जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पुग्न नसक्ने भक्तजनहरुका लागि सुब्बागाउँमा रहेको मन्दिरमा आउने गरी मन्दिर निर्माण गरिएको अध्यक्ष थापाले बताउनु भयो ।









