2026 April 24/ 09:13: 22am

    बनेपा/पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौधौं बार्षिक साधारण सभा प्रदेश सभा सदस्य गोमा भुर्तेलको प्रमुख आतिथ्यता र अध्यक्ष मधुसुदन पन्तको अध्यक्षतामा सम्पन्न भएको छ । सहकारीले कोभिड महामारीको अवसरमा शेयर सदस्यहरुको सुरक्षा मापदण्ड अपनाएर साधारण सभाको आयोजना गरेको थियो । 
    सभामा अध्यक्ष मधुसुदन पन्तले संस्थाले गरेका बार्षिक गतिविधिसँगै चालु वर्षमा संचालन गरिने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । कोभिड महामारीका बेला शेयर सदस्यहरुका समस्यालाई मध्यनजर गर्दै सहकारीले विषेष कार्यक्रम संचालन गरेको बताउँदै अध्यक्ष पन्तले सहकारीले संस्थागत विकासका लागि ४ आना क्षेत्रफलको जमिन ६४ लाखमा खरिद गरी आफ्नै भवन निर्माणको तयारीमा रहेको बताउनु भयो । कार्यक्रममा संस्थाका सचिव गोविन्द दाहालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बाल बचतकर्तालाई सम्मान, उत्कृष्ट बचतकर्ता, ऋणी, कर्जा, सदस्यता बृद्धी र पुँजी वितरण, सदस्यहरुको निधनमा अन्तिम संस्कारका लागि सहयोग, प्रसुती खर्च, दुर्घटना विमा जस्ता कार्यक्रम गरिरहेको बताउनु भयो । सोहि अवसरमा संस्थामा उत्कृष्ष्ट बचतकर्ता खेमनाथ दाहाल, उत्कृष्ट ऋणी टिकाराम खड्गी, जेष्ठ सदस्य महिला दिन कुमारी सत्याल र पुरुष शिवहरी दाहाल लगायतलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट कर्मचारी गंगा दाहाल र रमा तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । 
    ८ करोड ३० लाखको कारोवार गरेको संस्थाले गत आर्थिक वर्षसम्ममा १ करोड १० लाखको शेयर पुँजी र ५ करोड २० लाखको निक्षेप संकलन गरेको छ । कार्यक्रममा कोषाध्यक्ष लोकमणी दाहालले आर्थिक प्रतिवेदन र लेखा संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाकी उपाध्यक्ष कल्पना सापकोटा बजगाई, गंगा दाहाल ब्यवस्थापकले सहकारीले गरेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । साधारण सभामा संस्थाका सल्लाहकार कृष्ण तिमल्सिना कृष्णबुद्ध बजगाई, वडा अध्यक्ष सचितानन्द केसी, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला बहुउदेश्यीय सहकारीका सचिव योगराज दाहाल, शेयर सदस्य लगायतले मन्तब्य राख्नु भएको थियो । सहकारीले शेयर सदस्यहरुको आर्थिक समृद्धीका लागि निरन्तर कार्य गरिरहनुपर्ने सहभागीहरुले सुझाव दिएका थिए ।