बालमैत्री नगर सहित जिल्लामा विविध कार्यक्रम
धुलिखेल/बालबालिकाहरुको संरक्षण आमाकै कोख देखि गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कार्यपत्र प्रस्तुत गर्दै जिल्ला बाल न्याय क्षेत्र समन्वय समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा एक वर्षको अवधीमा १ हजार ९ सय १ गर्भपतन गराई भ्रुण देखि नै बालिबालिकाहरुको हत्या गरिएको बताउनु भयो ।
नेपाल बाल संगठन काभ्रेले आयोजना गरेको काभ्रेका बालबालिकाहरुको अवस्था तथा बालमैत्री जिल्ला निर्माणमा सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तिमल्सिनाले बालमैत्री भएका नगरपालिकाहरुको अभ्यासका आधारमा अन्य पालिकाहरुलाई बालमैत्री बनाउन र बालमैत्री जिल्ला घोषणा गर्दा बालबालिकाहरुको क्षेत्रमा भएका समस्याहरुको समाधानका लागि सरोकारवाला निकायहरु जिम्मेवार हुनु पर्ने बताउनु भयो । बालबालिकाहरु आफ्नै हत्या (आत्महत्या) तर्फ उन्मुख हुन थालेको, अपराधमा संलग्न हुन थालेको, जर्बजस्ति करणी तथा लागु औषध प्रयोग र ओसारपसारमा संलग्न हुन थालेको, अन्धविश्वासमा परेको, सडकमा बालबालिका जन्मन र अभिभावकका कारण सडकमा पुग्न थालेको, हराउने क्रम बढेको जस्ता विषयमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । बर्षेनी १ सय भन्दा धेरै बालविवाह हुने गरेको बताउँदै तिमल्सिनाले बालबालिकाहरु भविश्यका कर्णधार हुन् भन्ने ब्यवहारत देखाउन स्थानीय सरकारले नीति निर्माण र प्राथमिकतामा पार्नु पर्ने बताउनु भयो ।
अध्यक्ष विदुर हुमागाईले नेपाल बाल संगठनले जिल्लाका विभिन्न सरोकारवाला निकायहरुसँगको समन्वयमा बालबालिकाहरुको अधिकारका लागि कार्य गरिरहेको बताउनु भयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले समग्र जिल्लालाई बालमैत्री बनाउन अभियान शुरु भए अनुरुप दुईवटा स्थानीय तह धुलिखेल र पनौती घोषणा भईसकेको बताउनु भयो । स्थानीय तहसँगको समन्वयमा पालिकाहरुलाई बालमैत्री वातावरण निर्माणमा सहजिकरण गरिरहेको प्रमुख केसीले बताउनु भयो । जिल्ला समन्वय समितिले बालबालिकाहरुका लागि आवश्यक पर्ने कार्यालय, फर्निचर र बैठक हल उपलब्ध गराउने प्रमुख केसीले घोषणा गर्नु भयो । उपप्रमुख मञ्जु गौतमले बालबालिकाहरुका तमाम समस्याहरुलाई समाधान गर्न र बालमैत्री वातावरण तयार गर्न सबै पक्ष तयार हुन नसकेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जीवनका हरेक क्षेत्रमा बालबालिकाहरु जोडिने भएकाले सबै निकाय र क्षेत्रले बालबालिकाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनु भयो । प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले अपराध न्युनिकरण तथा बालबालिकाहरुको क्षेत्रमा संवेदनशिल भई कार्य गरिरहेको बताउनु भयो । अनुसन्धानमा पनि प्रहरीले प्राथमिकतामा राखेको बताउँदै बालबालिकाहरुलाई सहि मार्गमा लैजान विद्यालय स्तरीय जनचेतनामुलक कार्यक्रम कोभिडको अन्त्यसँगै निरन्तरता हुने बताउनु भयो ।
कार्यक्रममा सिर्जनशिल बाल क्लवका अध्यक्ष भुवन रायमाझीले बालबालिकहरुलाई प्रविधिसँग खेलाउँदै प्रविधिका राम्रा कुराको जानकारी गराउनु पर्ने र गलत बाटोमा जान दिन नहुने बताउनु भयो । बालसजालका अध्यक्ष सुवोध धिमाल, पनौती बाल संजालकी पुर्व अध्यक्ष सरिता सापकोटा, नेपाल बाल संगठनका उपाध्यक्ष हरिशचन्द्र घिमिरे, सचिव सञ्जिव न्यौपाने लगायतले बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने सबै संघसंस्थासँगको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । सोहि अवसरमा बाल मन्दिर धुलिखेल र पाँचखालमा रहेका बालबालिबाहरुलाई संगठनको तर्फबाट शैक्षिक सामाग्री वितरण गरिएको थियो ।









