धुलिखेल/धुलिखेल नगरपालिकाको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा नगरपालिकाका ५ वर्ष मुनिका अभिभाकहरुलाई बाल सम्बेदनशील सम्बन्धी दिएको तालिम सम्पन्न भएको छ ।
तालिम सम्पन्न पश्चात तालिममा सहभागिहरुलाई नगरापालिका प्रमुख अशोक ब्यान्जुले प्रमाण पत्र वितरण गर्नु भएको छ । प्रमाण पत्र वितरण गर्दै ब्यान्जुले तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा उतारी आफ्ना नानीबाबुहरुलाई राम्रो सँस्कार सिकाउनु पर्ने बताउनु भयो । हामीले बालबालिकाहरुलाई कस्तो संस्कार सिकाउँछौ भविष्यमा उनिहरु त्यस्तै हुने भएकाले अनुशासित, शिक्षित बालबालिका बनाउनु पर्ने बताउनु भयो । नगरपालिकाले भौतिक विकास सगै बालबालिकाहरुको क्षेत्रमा समेत कार्य गरेको बताउनु भयो । गत वर्ष नै नगरलाई बाल श्रममुक्त घोषण गरि सके पनि सबै वडामा बालक्लबहरु पुनर्गठन, ५ वर्ष मुनिका बालबालिकाहरुका अभिभावकहरुलाई १२ हप्ते तालिम प्रदान गरेको बताउनु भयो । कार्यक्रममा नगरपालिका उप प्रमुख विमला शर्माले नगरले महिलाहरुका लागि विभिन्न सेवाहरु प्रदान गरेको बताउनु भयो । महिला दिदिबहिनीहरुले आफ्ना बालबालिकाहरुलाई पौष्टिक आहार खुवाउनु पर्ने, सुत्केरी अवस्थामा राम्रो स्याहार सुसार गर्नुपर्ने, बालबालिकाहरुलाई राम्रो ब्यबहार गर्नुपर्ने, सकारात्मक मात्र सिकाउनु पर्ने बताउनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, सामाजिक विकास शाखा प्रमुख विदुर गौतम, सेभ द चिल्ड्रेका बरिष्ठ कार्यक्रम अधिकृत गोपाल नेपाली सहभागिका तर्फबाट जुना तामाङ लगायतका ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा नगरपालिकाले ९ वटा वडामा ९६ जना अभिभावकलाई उक्त तालिम प्रदान गरेको र उक्त तालिम १२ हप्ता प्रदान गरिएको सामाजिक विकास शाखा अधिकृत विदुर गौतमले बताउनु भयो । गौतमले तालिमलाई निरन्तरता समेत दिने बताउनु भएको थियो । कार्यक्रम वडा नम्र ११ का वडा अध्यक्ष तथा समाजिक विकास समिती संयोजक विष्णु धितालको सभापतित्वमा सम्पन्न भएको थियो ।









