पनौती/पनौतीमा गृह श्रमिक ब्रम्हायणी महिला समूहले सदस्य तथा गृहश्रमिक महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम आयोजना गरेको छ । अध्यक्ष शान्ता लक्ष्मी सैंजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३० जना महिलाहरु सहभागी थिए । सचिव मुना कर्माचार्यले संस्था दर्ता गरी महिलाहरुलाई सक्रिय बनाउने क्षमता अभिबृद्धी तालिम आयोजना गरेको बताउनु भयो ।
तालिममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले जनसमक्ष प्रस्तुत हुँदा नेतृत्व विकासका लागि ध्यान दिनु पर्ने विषयमा जानकारी गराउनु भएको थियो । शुभारम्भ कार्यक्रममा संस्थाका पदाधिकारी तथा महिला अभियान्ता उमा थपलिया लगायतले तालिमको आवश्यकता र महत्वका बारेमा जानकारी गराउनु भएको थियो । तीन दिनसम्म आयोजना भएको तालिममा पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत इन्द्र अधिकारी, अधिबक्ता लालतारा अधिकारी लगायतले प्रशिक्षण दिनु भएको थियो । संस्थाका बारेमा संस्थाका केन्द्रिय पदाधिकारीहरुले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।









