2026 April 24/ 07:28: 40am

बनेपा/युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  पाँचखाल सेवाकेन्द्र शुरु गरेको छ । सेवा केन्द्रको उद्घाटन पाँचखाल नगरपालिकाका उप प्रमुख लक्ष्मी दनुवारले एक कार्यक्रमका बिच गर्नु भएको थियो । 
    प्रमुख अतिथी दनुवारले सहकारी संस्थाले ऋण दिने र जसरी हुन्छ असुली गर्ने नीति लिने मात्र हो भने सदस्य मैत्री हुन सकिदैन तर निम्न आयस्तर भएका सदस्यहरूको जीवनस्तर उकास्न कसरी सकिन्छ भन्ने चिन्तनमा सहकारी केन्द्रित हुनुपर्ने बताउनु भएको थियो ।  दनुवारले युवा साकोसको आगामी दिनमा सफलताको शुभकामना दिनुहुदै आगामी दिनमा पाँचखाल नगरपालिका र युवा साकोसको सहकार्यमा नगरबासीहरूमा उद्यमशिलाता विकास गर्ने तथा जीवनस्तर सुधार गर्ने कार्यक्रमहरू संचालन गर्नुपरेमा आफ्नो पूर्ण साथ सहयोग रहने  बताउनु भयो । 
    कार्यक्रममा संस्थाको गतिविधि साकोसका ब्यबस्थापक निश्चल सापकोटाले प्रस्तुत गर्नु भएको थियो । सस्थाको काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको युवा साकोसको १३ वटै स्थानीय तहमा एक एक वटा सेवाकेन्द्र स्थापना गर्ने लक्ष्य अनुरूप दोस्रो सेवाकेन्द्रको रूपमा पाँचखाल सेवाकेन्द्र स्थापना भएको बताउनु भयो । पाँचखाल नगर क्षेत्रका सदस्यहरूले बनेपासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको सापकोटाले बताउनु भयो । संस्थाका अध्यक्ष उदयराम कायस्थले पाँचखाल नगर क्षेत्रका सदस्यहरूको सुझावलाई समेट्दै बचत तथा ऋणको सेवा उपलब्ध गराउनुका साथै अन्य सामाजिक कार्यक्रम पनि संचालन गर्ने प्रतिबद्धता गर्नु भएको थियो । कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाका उज्ज्वल अधिकारी, स्वास्थ्य शाखाकै विष्णु गौतम, संस्थाका संचालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, उपसमिति सदस्य, कर्मचारीलगायत शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । युवा साकोसको पाँचखाल सेवाकेन्द्रको कार्यालय समाजकल्याण चोक नबिल बैंक रहेको घरको दोस्रो तल्लामा रहेको जनाएको छ । कार्यक्रम संस्थाका अध्यक्ष उदयराम कायस्थको अध्यक्षतामा सम्पन्न भएको थियो ।