रोशी/काभ्रको रोशी गाउँपालिका ७ कटुन्जेस्थित बीपी राजमार्गमाथिबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको निधन भएको छ ।
जनकपुरबाट काठमाडौ आउँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकल माथि आईतबार बिहान करिब ९ बजे ढुङ्गा खसेको हो । दुर्घटनामा मोटरसाईकल चालक महोत्तरी रामगोपालपुर घर भएका वर्ष २८ का सरोजकुमार साहको मृत्यु भएको छ भने मोटरसाईकल पछाडि सवार धनुषा रामानन्धचोकका ३० वर्षका सुमित कुमार साह घाइते भएका छन् ।
प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी कटुन्जेबाट खटिएको प्रहरीटोली घटनास्थल पुगेको थियो । घाइतेलाई एम्बुलेन्समार्फत धुलिखेल अस्पताल पु¥याइए पनि डाक्टरले बिहान १०ः३० बजे नै चालक सरोजलाई भने मृत घोषणा गरिदिएका थिए । त्यस्तै, अर्का घाइतेको भने पेट र अनुहारमा चोट लागेको र थप उपचार चलिरहेको डिएस्पी खतिवडाले जनाए ।
त्यसैगरी अरनिको राजमार्ग स्थित धुलिखेल नगरपालिका स्थित तिरतिरे धारा, पाँचखाल नगरपालिका स्थित खाँवा केराघारी, हनुमानगढी स्थित सडक खण्ड आसपासको रुखहरु ढली र पहिरो आई अबरुद्ध भएको थियो । अवरुद्ध सडक बिपद् व्यवस्थापन उद्धारमा खटिएको प्रहरी टोली, स्थानीय र सरोकारवाला निकायहरुको पहलमा हटाई दुबैतर्फ सवारी सुचारु गरिएको थियो ।









