काभ्रे सेवा समाजले पाँचखाल–११ खरेलथोक स्थित बौद्धिक अपाङ्ग पुनस्र्थापना केन्द्रलाई कोभिड–१९ सहयोग अन्तर्गत आर्थिक सहयोग गरेको छ । समाजलाई इन्भाष्ट ग्लोबल अष्ट्रेलियाबाट प्राप्त सहयोग रकमबाट केन्द्रलाई अढाई लाख रुपैंया सहयोग प्रदान गरिएको हो ।
केन्द्रको छात्रावास खरेलथोक, स्वाँरामा आयोजित कार्यक्रममा समाजका सल्लाहकार एवं पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र अध्यक्ष नारायणसिंह महतले संयुक्त रुपमा सो रकम केन्द्रका अध्यक्ष केवलप्रसाद सिग्देललाई हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा समाजका सल्लाहकार अच्युतकृष्ण खरेलले भन्नुभयो, ‘मुलुकका विभिन्न जिल्लाबाट खरेलथोकको केन्द्रमा आवाशीय रुपमा रहेर भगवती माविबाट विशेष शिक्षा लिइरहेका बौद्धिक अपाङ्गहरुलाई सबैले सहयोग गर्न आवश्यक छ । हाल आश्रित बिद्यार्थी, शिक्षक र सुसारे गरी २६ जनालाई दैनिक खाना खुवाउनमात्र सकेमा पनि तीर्थव्रत गरिरहनु पर्दैन । यो नै ठूलो तीर्थ हुन्छ’, उहाँले थप्नु भयो ।
समाजका अध्यक्ष नारायणसिंह महतले विगतमा पनि कासेसले पलाञ्चोक क्षेत्रमा विनासकारी भुकम्पका बेलामा राहत एवं निजी घर पुनर्निर्माणमा सहयोग गरेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘त्यतिखेर विभिन्न दाताहरुको सहयोगमा विपन्नहरुको घर बनाएका थियौं । कोभिड–१९ को लहर फैलिएलगत्तै विभिन्न दाताहरुको समन्वयमा काभ्रे जिल्लाका लागि राहत र सहयोगका लागि समन्वय गरिरहेका छौं । यो कोभिड–१९ राहत सहयोग अन्तर्गत दोस्रो कार्यक्रम हो’, महतले भन्नुभयो ।
केन्द्रका कोषाध्यक्ष रमेश खरेलले २०५८ सालमा भगवती माविमै विशेष कक्षाका रुपमा पुनस्र्थापना केन्द्र स्थापना भएकोमा तत्कालीन अवस्थामा आवाशीय सुविधा नहुँदा बालबालिका र अभिभावकहरु सबैले असुविधा व्यहोर्नु परेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘त्यतिखेर विहान ल्याउने र बेलुकी लैजानु पर्ने समस्याले गर्दा अभिभावकहरुले खरलेथोकमा डेरा लिएर ती बालबालिकाहरुलाई राख्नु पर्ने बाध्यता थियो । अहिले दाताहरुको सहयोगमा होस्टेल र कक्षा कोठाहरु बनेको छ । तर पनि शिक्षक र हेरालुहरुको तलब तथा विद्यार्थीहरुको खाना जुटाउनै धौधौ छ’, खरेलले भन्नु भयो । केन्द्रकी सचिव एवं शिक्षिका सुधा खरेलले बौद्धिक अपाङ्गता भए पनि केही काम गर्न सक्छन् कि भनेर पाँचखाल नगरपालिकाको सहयोगमा पोतेमाला बनाउन तालिम दिइएको र फुर्सदको समयमा आश्रित बालबालिकाहरुले पोते माला र अन्य चीजहरु बनाउन सक्ने भएको सुनाउनुभयो ।









