बनेपा/स्थापना भएको छोटो समयमा नै आम विरामीहरुको विश्वासिलो स्वास्थ्य संस्थाको रुपमा परिचित बनेपा हेल्थ केयरले तेस्रो वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर बनेपा हेल्थ केयरले संस्थाको फार्मेसी विभागकी सहायक फर्मासिस्ट सुशिला बुढाथोकीलाई उत्कृष्ट कर्मचारी घोषण गर्दै मायाको चिनो, प्रमाण पत्र र नगद पाँच हजार सहित सम्मान गरेको छ । हेल्थ केयरले वार्षिकोत्सवकै अवसरमा पनौतीमा अवस्थित प्राणनाथ माइती बृद्धाश्रममा संस्थाका बृद्धबृद्धाहरुलाई विभिन्न प्रकारका औंषधिहरु, बाफ लिने निबुलाईजर, भिटामिन, हर्लिक्स, मास्क, सेनिटाइजर लगायतका औंषधिजन्य सामाग्रीहरु हस्तान्तरण गरेको प्रबन्ध निर्देशक जितेन्द्रकुमार थापाले बताउनु भयो ।
विगत ३ वर्ष देखि निरन्तर विशेषज्ञ ओ.पि.डि. सेवा प्रदान गर्दै आइरहेको बनेपा हेल्थ केयरले कोरोना कहरमा समेत चिकित्सक तथा कर्मचारीहरुलाई पूर्ण रुपमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सेवालाई निरन्तरता दिएको र विरामीहरुको सेवामा अनवरत रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको थापाले बताउनु भयो । बनेपाको मुख्य चोक टेलिकमसँगै रहेको हेल्थ केयरले सामाजिक उत्तरदायित्व बहन गर्दै कोरोनाको पहिलो लहर देखिनै थुप्रै सार्वजनिक तथा निजि संघ–संस्थाहरुलाई निःशुल्क रुपमा स्वास्थ्य सामाग्रीहरु वितरण गर्दै आइरहेको प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो ।
हेल्थ केयरले आगामी दिनमा पनि सेवाहरु अझ धेरै उत्कृष्ट बनाई छिटो छरितो सेवा दिने तथा विशेषज्ञ सेवालाई थप गरी दैनिक रुपमा छाला रोग विशेषज्ञ र महिला तथा प्रसुति रोग विशेषज्ञको सेवा दिदै जाने कुरा संस्थाका व्यवस्थापक शिव पौंडेलले जानकारी दिनुभयो । सेवा थप गरेपछि आम विरामीलाई आफ्नो स्वास्थ्य समस्याहरुलाई समाधान गर्न निकै सजिलो हुने विश्वास ब्यक्त गर्नुभयो ।









