2026 April 24/ 05:06: 20am

    बनेपा/बनेपा नगरपालिकाले आमाबाबु विहिन बालबालिकाहरुलाई निःशुुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ । आमाबाबु विहिन बालबालिकाहरुलाई बागमती प्रदेश सरकारले दिने रकममा थप गरी सहयोग उपलब्ध गराउने गर निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । 
    ‘नगरले गतबर्ष देखि प्रदेशले प्रदान गरेको रकममा मासिक १ हजार थप गरी तीन हजार प्रदान शुरु गरिएको थियो’–नगर प्रमुख लक्ष्मीनरसिं बादेले भन्नुभयो–‘चालु वर्ष देखि अभिभावक विहिन बालबालिकाहरुको शिक्षाको जिम्मेवारी स्थानीय सरकारले लिने निर्णय गरेका छौं ।’ स्थानीय सरकारको जिम्मेवारी अभिभावक नभएका बालिबालिकाहरुको अभिभावक बन्नु पनि भएकाले निःशुल्क शिक्षा र सामाजिक सुरक्षा प्रदान गरिएको उहाँले बताउनु भएको थियो । सामाजिक सुरक्षा वितरण कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले नगरलाई सडक बालबालिका मुक्त शहर बनाउन लागिएको बताउनु भयो । आमाबाबु विहिन बालबालिकाको नगरपालिकाले अभिभावकीय भूमिका निभाउन लागेको उपप्रमुख सापकोटाले बताउनु भयो । नगरभित्र १५ जना आमा बाबु विहिन बालबालिकाहरु रहेको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले बताउनु भयो । आमाबाबु बिहिन बालबालिकाहरुलाई नगरले अभिभावकत्व पूरा गर्ने दायित्व रहेको प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले बताउनु भयो । 
    नगरले खानेपानी, शिक्षा, स्वास्थ्य, सडक लगायतका भौतिक पूर्वाधारहरु निर्माण गरि जनतालाई सेवा प्रदान गर्नु नगरको कर्तब्य र दायित्व भएको उप्रेतिले बताउनु भयो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, महिला तथा बालबालिका शाखा अधिकृत बिजया सुवेदी, महिला निरिक्षक निर्मला कार्की लगायतको सहभागिता रहेको थियो ।
अपाङ्गता सम्बन्धी जनवकालत    
    काभ्रे बहिरा विकास संघ र बनेपा नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा  अपांगता सम्बन्धि नगरस्तरीय जनवकालत तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुलाई समाजले हेर्ने दृटिकोण फरक नपारी समान दृष्टिले हेर्नु पर्ने नगर प्रमुख बादेले बताउनु भयो । नगरले अपांगता भएका समहुलाई छुट्टै बजेट विनियोजित गरेकाले उक्त बजेटबाट सिप सिकाई जीवीकोपार्जन गराउन नगर प्रमुख बादेले अनुरोध गर्नु भएको थियो । आधारभूत तालिम मात्र नभई एड्भान्स तालिम प्रदान गरि आत्मनिर्भर बनाउनु पर्ने नगर प्रमुख बादेले बताउनु भयो । 
    नगरले अपाङ्गता, दलित, महिला बालबालिकाका क्षेत्रमा बजेट विनियाजित गरेकाले उक्त बजेट लक्षित वर्गका लागि खर्च हुनेछ । उपप्रमुख रेखा सापकोटा दाहालले अपाङ्गता भएका ब्यक्तिहरुलाई सिप प्रदान गरिरहेको बताउनु भयो । आधारभुत तालिमले रोजगारीको अवसर सिर्जना गर्न कठिनाई भए थप एड्भान्स तहको तालिम उपलबध गराउन नगरपालिका तयार गरेको उपप्रमुख दाहालले बताउनु भयो । नगरभित्र सम्पूर्ण वर्गहरुले उत्पादन गरेका सामाग्री बिक्री वितरणका लागी कोसेली घरको स्थापना गर्न लागिएको उहाँले बताउनु भयो । ‘हामी सिप मात्रै सिकाउँदैनौ, उत्पादित सामाग्रीको बजारीकरणका लागि पनि पहल गरेका छौं’–उपप्रमुख दाहालले बताउनु भयो । 
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासाकिय अधिकृत कविराज उप्रेतिले नगरले भौतिक विकास सँगै सामाजिक क्षेत्रमा काम गरिरहेको बताउनु भयो । कौसीखेती, सिलाई बुनाई, अचार बनाउने, साबुन बनाउने तालिमहरु प्रदान गरेको उहाँले बताउनु भयो । वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, महिला विकास शाखा अधिकृत बिजया सुवेदी, काभ्रे बहिरा विकास संघका अध्यक्ष विरवहादुर बोगटी, काभ्रे वहिरा विद्यालयकी प्रधानाध्यापक कृष्णप्यारी नकर्मी लगायतले अपाङ्गता भएका ब्यक्तिहरुको सुरक्षासँगै अवसरको खाँचो रहेको बताउनु भएको थियो । काभ्रे बहिरा विकास सघंकी उपाध्यक्ष मनिषा मानन्धर लगायतले कार्यक्रम माथी चर्चा गर्नु भएको थियो ।