2026 April 24/ 05:05: 54am

भकुण्डेबेशी/नमोबुद्ध नगरपालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरबासीका लागि घरघरमै पुगेर भत्ता वितरण गर्न थालेको छ । 
गत आर्थिक बर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गर्न थालिएको हो ।  नगरले वडा नं. २ का २० जनालाई लुम्बिनी विकास बैंकका कर्मचारीहरु सहितको टोली पुगेर भत्ता वितरण गरिएको जनाएको छ । 
बैंकसम्म जान नसक्ने दीर्घरोगी तथा पूर्ण अपांगता भएका व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गर्न थालिएको नगरपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले बताउनु भयो ।  

नमोबुद्ध नगरपालिकाले २०७५ सालदेखि नै अशक्त र दीर्घरोगीलाई घरघरमै बैंकका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता विरण गर्न थालेको जनाएको छ । गत आइतबार २ नम्बरबाट सुरु भएको भत्ता वितरण कार्यक्रम ११ वटै वडामा क्रमश संचालन हुने नगर प्रमुख टिपि शर्मा तिमल्सिनाले बताउनु भयो ।  
नमोबुद्ध नगरपालिकाले जेष्ठ नागरिक, अपांग लगायतका लागि विगतदेखि नै विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । नगरपालिकाले विगतदेखि नै मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ भने यो बर्षदेखि जेष्ठ नागरिकका लागि मुस्कानसहितको सेवा अन्तर्गत दाँत राख्ने, कान नसुन्नेहरुका लागि सहयोगी उपकरण व्यवस्था गर्ने लगायतका योजना अघि सारेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनु भयो ।