नमोबुद्ध नगरपालिका वडा नं. २ मा सुविधासम्पन्न वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । वडा कार्यालय र स्वास्थ्य केन्द्रको निर्माणसँगै अब स्थानीयबासीलाई सेवा प्रवाहका लागि थप सहजता आउने भएको छ ।
नमोबुद्ध २ को रातमाटेमा निर्माण गरिएको वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्रको आज बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका छन् । २०७४ सालको स्थानीय निर्वाचनपछि जनप्रतिनिधि आएपछि निर्माण भएर उद्घाटन भएको वडा नं. २ को कार्यालय दोस्रो हो । यसअघि यही साउन ४ गते वडा नं. ११ को वडा कार्यालयको सुविधासम्पन्न भवन उद्घाटन गरिएको थियो । नमोबुद्ध नगरपालिकाले नगरबासीलाई सहजरुपमा सेवा प्रदान गर्नका लागि वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकतामा राखेको थियो । पहिलो चरणमा वडा नं. ११ सहित वडा नं. ३ र ६ को वडा कार्यालय निर्माणको काम सम्पन्न भइसकेका छन् । दोस्रो चरणमा निर्माण थालिएका वडा नं. २ को भवन निर्माण सम्पन्न पश्चात आज उद्घाटन गरएको छ भने वडा नं. ७, ८, ९ र ११ को वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक बर्षमा वडा नं. १, ४ र ५ को कार्यालय निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । नगरपालिकाले नगरको प्रमुख प्रशासकीय भवनको पूर्णरुपमा निर्माणको कामसमेत सकिसकेको छ । वडा नं. २ को भवन निर्माणका लगि भ्याटबाहेक ४० लाख ७४ हजार ५ सय ७१ रुपैयाँमा सिद्धिविनायक निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो ।









