2026 April 24/ 05:43: 55am

    धुलिखेल/सुशासन प्रबद्र्धनका लागि अन्तरपुस्ता संवाद धुलिखेल नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । सामुदायिक सारथीको आयोजना र द एसिया फाउन्डेसनको सहकार्य रहेको कार्यक्रममा नगर भित्रका जेष्ठ नागरिक, युवा पुस्ता एवम् बालबालिका र जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
    एक पुस्ता र अर्को पुस्ता बिच भएका विकास; परिवर्तन र विशेष गरी सुशासन सम्बन्धी वृहत छलफल भएको थियो । पहिलाको अवस्थामा र अहिलेको अवस्थामा आएको परिवर्तनलाई मुख्य विषयवस्तु बनाई गरिएको अन्तरक्रियामा युवा पुस्ताले जेष्ठ नागरिकलाई जिज्ञासा राखि पहिला सुशासन व्यवस्था कस्तो रहेको थियो भनि प्रश्न गरिएको थियो । जेष्ठ नागरिकबाट सम्बोधन गर्ने क्रममा उहाँहरुको समयमा हुने शासन व्यवस्थाको बारेमा चुनियालाल माकाजुले प्रष्ट पार्नु भएको थियो । ‘पहिलाको समयमा पनि भ्रष्टाचार हुन्थ्यो, नहुने होइन तर अहिलेको जस्तो प्रत्यक्ष पैसैमा भने कारोबार हुदैनथ्यो । पहिला जनताबाट जग्गा हठप्ने, बालि उठाएर लिएर जाने, भनेको काम गरेबापत केहि खाद्यान्न उपलब्ध गराउने थियो । तर अहिले त लजास्पद रुपमा सिधै पैसाकै बारेमा कुरा भएको देख्दा अचम्म लागेर आउँछ’– चुनियाँलाल माकजुले भन्नुभयो । 
    पहिलेको पुस्तामा शिक्षाको माहोल अहिलेको जस्तो नभए पनि व्यवहारिक ज्ञानमा पोख्त भइ उचित सँस्कार, सँस्कृति, रहनसहन एवम् उचिन जिविकोपार्जन गरेका पुस्तालाई प्रविधिको ज्ञान नहुँदा पनि आफ्ना बालबालिकालाई राम्रो हेरचाह गरि उचित मार्गदर्शन गरेको पाइन्छ । अहिले प्रविधिको उचित प्रयोगको साथसाथै दुरुपयोग पनि भइरहेको यो समाजमा पहिलाका रहनसहन, सँस्कृतिलाई अबलम्बन गरेर अघि बढ्नेको संख्यामा पनि कमिका साथै आधुनिक समाजमा रहि तिनपुस्ते सन्तान एकै ठाउमा रहनेको संख्यामा पनि कमी भएको पाइन्छ । 
    यस्तै विषयवस्तुमा रहि भएको अन्तरक्रियामा प्रमुख अतिथिको आतिथ्यता धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख अशोक ब्याञ्जुले पहिलाको र अहिलेको समयमा भएको परिवर्तनको बिषयमा आफ्नो धारणा राख्नु भएको थियो । ‘पहिलाको पुस्ता र विचको पुस्तामा अनि पछिल्लो पुस्तामा शिक्षामा निकै भिन्नता रहेको छ । परम्परागत पारम्पारिक शिक्षा पाई हुर्केको अघिल्लो समाज पछिल्लो समयमा प्राविधीमैत्री बन्दै गएको छ । प्रविधिको राम्रो सदुपयोग सँगै हुने दुरुपयोगको कारणले अहिलेको युगका युवा पुस्ता अघिल्लो पुस्तासँग खासै घुलमिल हुने गरेको पाइदैन । जसको कारण एउटा परिवारमा नै अन्तर पुस्ता कुराकानी वा छलफल हुन पाउदैन । कारण स्वरुप पहिलाका कुराहरुको ज्ञान पछिल्लो पुस्तामा नहुने पाइएको छ । व्यवहारिक शिक्षा पाई हुर्केको पुरानो समाजले अहिले सैद्धान्तिक ज्ञान मात्र प्राप्त गरेको छ । समाजको अवस्था हेर्दा एउटै घरको मानिसमा पनि कुराकानी वा सम्वाद गर्ने समय नभएको र अनुभवहरु साटासाट गर्न पाएका छैनन्’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो । नगरपालिकाले यो अभियानमा सहकार्य गर्ने उहाँले बताउनु भयो । 
    त्यसैगरी सभाध्यक्षको रुपमा धुलिखेल जवाफदेही निगरानी समुहका संयोजक सुविना मानन्धर, अतिथिहरुका रुपमा सामुदायिक सारथिका कार्यकारी निर्देशक तारा बहादुर भण्डारी, जिल्ला संयोजक कर्ण बहादुर नेपाली, नगर उपप्रमुख विमला शर्मा चौलागाईं, वडाध्यक्षहरु देवप्रसाद कोइराला, विनोद पराजुली एवं वसन्त रानाभाटको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सामुदायिक सारथिका सरस्वती श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमले पहिला र अहिलेको बिचको अन्तरालको समस्या, बिकास, शिक्षा एवं सुशासन सम्बन्धी धेरै कुराहरुको ज्ञान प्राप्त भई नयाँ कुरा थाहा पाएकोमा नयाँ पुस्ताका बालबालिकाहरु हर्षोल्लासका साथ कार्यक्रमलाई अझै विस्तार गरि समाज समाजमा पु¥याउने प्रतिबद्धता ब्यक्त गरिएको थियो ।