2026 April 24/ 04:02: 05am

    आगामी माघ महिनाभर उत्तर प्रयाग समेत मानिँदै आएको पनौतीको त्रिवेणी घाट परिसरमा १२ वर्षे मकर मेला लाग्दैछ । मकरमेलालाई भव्य रुपमा सम्पन्न गर्न पनौती नगरपालिकाले पूर्वाधार निर्माणका कार्यहरुलाई प्राथमिकता दिइरहेको छ ।
    यसैक्रममा मकर मेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि रोटरी क्लब अफ पनौतीले नागरिक समाज संस्थाका तर्फबाट प्रवद्र्धनात्मक अभियान सुरु गरेको छ । क्लबको छैठौं पदस्थापन समारोहमा अध्यक्ष इन्जिनियर सितु सैंजुले अभियान थालनी भएको जानकारी दिनु भयो । 
उहाँले भन्नुभयो, ‘रोटरी क्बल अफ पनौतीले सांस्कृतिक नगर पनौतीमा आयोजना हुने १२ वर्षे मेलाका लागि प्रवद्र्धनात्मक अभियान थाल्ने निर्णय गरेको छ । क्लबका पत्राचारलगायत सबै गतिविधिहरुमा रोटरी अन्तराष्ट्रिय एवं रोटरी पनौतीको लोगो, मकर मेला २०७८ उल्लेखित क्लबको लोगोको प्रयोगमा ल्याउनेछ । यस्तै, प्रचार प्रसारका सामग्रीहरु तथा मायाका चिनोहरुमा समेत यही लोगोको प्रयोग हुनेछ’, उहाँले भन्नु भयो ।
क्लबको निर्णयअनुसार प्रवद्धर्नात्मक अभियानका लागि तयार पारिएको लोगोयुक्त मगलाई रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ का निवर्तमान डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेल र पनौतीका नगर प्रमुख भीम न्यौपानेले संयुक्त रुपमा सार्वजनिक गर्नु भयो । सो अवसरमा न्यौपानेले भन्नुभयो, ‘हामीले क्यालेण्डर मार्फत मकर मेलाको प्रवद्र्धन थालेका छौं । रोटरी क्लबले नयाँ सुरुवात गरेर मकर मेला सम्पन्न गर्नका लागि नगरपालिकालाई समेत साथ दिएकोमा खुशी भएका छौं । मकर मेला २०७८ मा सूचना, जानकारी तथा अन्य व्यवस्थापनलाई सूचना प्रविधिको अधिकतम प्रयोगका लागि रोटरी क्लबसँग सहकार्य गर्दैछौं’, उहाँले थप्नु भयो ।
क्लबले मकर मेला २०७८ लाई प्रवद्र्धन र कोभिड–१९ को अवस्थामा सहज आएको अवस्थामा मुलुकभर र भारतीय क्लबका रोटरियनहरुलाई पनौती भ्रमणका लागि विभिन्न प्रवद्र्धनात्मक सामग्रीहरु समेत तयार गर्ने लक्ष राखेको क्लब सेक्रेटरी विष्णुमणि अधिकारीले जानकारी दिनु भयो । यस अघि पनौतीको इन्द्रेश्वर मन्दिर परिसरमा प्राईम एफएम १०४.५ मेगाहर्जले मकर मेला र यसको तयारीका बारेमा नगर प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, सरोकारवाला ब्यक्तिहरुसँग अन्र्तक्रिया गरेको थियो ।