धानको बोट बोकेर कृषक सरकारी कार्यालयमा
खोपासी/पनौती नगरपालिका खोपासीको फाँटमा रोपेको धान धमाधम सुकेर पराल जस्तो देखिन थालेको छ । रोपाई गरेको एक महिना नपुग्दै धानमा देखिएको रोगका कारण कृषकहरु चिन्तित भएका छन् । बजारका विभिन्न पसलबाट खरिद गरेको धानको विउमै समस्या भएका कारण धान रोपेको एक महिनामै रोग देखिन थालेको हो ।
खोपासी फाँटमा धान रोपेका कृषक गोपिलाल श्रेष्ठको ३ रोपनी खेतमा लगाएको सबै धान डढिसकेको छ । बनेपाबाट लगेको धानको विउमा समस्या देखिएको शंका गर्नु भएका गोपिलालले एक महिनामा धान डढेको देखे पछि नगरपालिकाको कृषि तथा पशुपक्षि शाखामा जानकारी गराएको बताउनु भयो । नगरपालिकाले कृषकहरुको गुनासो आए लगत्तै विषादी वितरण गरी धानमा भएको समस्या पहिचानका लागि प्राविधिक खटाएको जानकारी दिएको छ । कृषि तथा पशुपंक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले खोपासी फाँटमा लगाईएको धानमा समस्या देखिएकाले विषादी वितरण गरी प्राविधिकहरु खटाईएको बताउनु भयो । खोपासी फाँटमा लगाईएको एक्ले धान, मनसुनी खुमल चार, टाईचिन जस्ता अधिकांश धानमा लाई जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरुले बोट खाने गरेकाले धान रोपाई गरेको एक महिना नपुग्दै डढेको बताउनु भयो ।
कृषक उमेश थापाले धान डढ्न थाले पछि विषादी प्रयोग गरे पनि काम नलागेको बताउनु भयो । बनेपा, पनौती र खोपासीकै एग्रो भेटबाट खरिद गरेर विउ राखी रोपेको धान एक महिना नपुग्दै डढेर खेत खाली हुन थालेको उहाँले बताउनु भयो । खुमल चार र १० दुबैमा रोग लागेकाले तत्कालै अनुसन्धान गरी कृषकहरुलाई प्राविधिक सहयोग उपलब्ध गराउन उहाँले अनुरोध गर्नु भयो । कृषक सुभद्रा तिमल्सिनाले कोरोनाले क्षतविक्षत बनाएको समुदायलाई खेतिपातीमा पनि सकंट बनाएको बताउनु भयो । लाईजस्तो उड्ने किरा धानको गाभामा बसिरहने गरेको र त्यसलाई हटाउन धान गोडे पनि सम्भव नभएको तिमल्सिनाले बताउनु भयो । धानको बोटमा बसेर किराले खाईरहेकाले विषादी प्रयोग गरे पनि काम नगरेको उहाँले बताउनु भयो । धानमा लागेको किराले मकैमा पनि असर पु¥याएको उहाँले बताउनु भयो ।
मकै पाकेर छोडाउने बेला लाग्ने घुन धानचम्मर आउँदै घुन लाग्ने र किराले खाने गरेका कारण घोगा लाग्नै छाडेको कृषक सुभद्रा तिमल्सिनाले बताउनु भयो । कृषकहरुले प्रति केजी धानको मुल्य ८ सय रुपैया तिरेर खरिद गरेका थिए । खोपासीकै धुरण खत्रीले पनौतीबाट विउ खरिद गरी लगेको धानको विउ राख्दा समस्या नभए पनि रोपेको १५ दिन पछि समस्या भएको बताउनु भयो । धान, मकै, गोलभेडा र अन्य तरकारी बालीहरुमा त्यस्तै किराहरु लागेर विरुवाहरु धमाधम सुक्न थालेको कृषकहरुले बताएका छन् । कृषक गिता हुमागाईले धान डडेर खेत बाँझै हुन थालेको बताउनु भयो । नगरपालिकाले तत्कालै खेतको अवस्था हेरेर कृषकहरुलाई राहत र अनुदान उपलब्ध गराई विउका कारण आएको समस्यामा वितरकहरुलाई कारवाही गर्न माग गरे । मकैमा थप किरासँगै सिलेसा जस्ता किराहरु देखिन थालेको कृषक गीता हुमागाईले बताउनु भयो ।









