2026 April 24/ 04:03: 01am

    नमोबुद्ध/नमोबुद्ध नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डे बजारमा दोश्रो पटक सिसिटिभी निगरानी प्रणाली जडान गरिएको छ । पहिलो पटक जनप्रतिनिधि निर्वाचित नहुँदै सिसिटिभी राखिएको भए पनि सिस्टममा आएको थिएन । यो पटक राखिएको सिसिटीभी प्रभावकारी हुने नगरपालिकाले जानकारी दिएको छ । 
    बजार क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणको उद्देश्यले नमोबुद्ध नगरपालिकाले बजार क्षेत्रमा सिसिटिभी जडान गरेको हो । डिजिटल नमोबुद्धको अवधारणाअन्तर्गत जडान गरिएको सिसिटिभी निगरानी प्रणालीको आइतबार काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले संयुक्तरुपमा उद्घाटन गरे । नमोबुद्ध नगरपालिकाले १५ लाख रुपैयाँको बजेटमा १७ स्थानमा १७ वटा क्यामरा जडान गरेको छ । यस्तै तीनवटा क्यामरा प्रहरी चौकी भकुण्डेबेशीमा जडान गरिएको छ । सबै सिसिटिभी क्यामराको कन्ट्रोल प्रहरी चौकी भकुण्डेबेशीबाट हुनेछ । पछिल्लोपटक भित्रिएको नयाँ प्रविधिसहित उच्च क्षमताका क्यामरा जडान गरिएको छ ।
    कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले प्रविधिको उच्चतम प्रयोग गर्दै नगरलाई सुरक्षित बनाउने उद्देश्यले नगरपालिकाले सिसिटिभी जडानको पहलकदमी लिएको बताए । सबै वडामा इन्टनेटको पहुँच पुगेको, राजस्व तिर्नका लागि नगरपालिका वा वडासम्म धाउनुनपर्ने गरी घरबाट इ–सेवा तथा खल्ती एपबाट तिर्नसक्ने वयवस्था मिलाइएको पौडेलले जानकारी दिए । 
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले सिसिटिभी जडान कार्यले नगरमा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका खेल्ने बताए ।