बनेपा/नमोबुद्ध नगरपालिकाले ६५ करोड ५९ लाख बजेट सार्वजनिक गरेको छ । जिल्लामा रहेका १३ वटा पालिका मध्ये धुलिखेल र पनौतीले असार ७ गते नै बजेट प्रस्तुत गरिसकेका थिए भने महाभारत गाउँपालिकाले असार ९ गते बजेट सार्वजनिक गरेको छ ।
पाँचखाल, बनेपा र मण्डनदेउपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छन् । नमोबुद्ध र पाँचखालले प्रस्तुत गरेको बजेटमा अंक मात्रै प्रस्तुत गरिएको छ । बेथान्चोक गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा पनि अंक मात्रै प्रस्तुत गरिएको छ । तेमाल गाउँपालिकामा एमाले र माओवादीका जनप्रतिनिधिहरुले गरेको बहिस्कारका कारण बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बेथान्चोक गाउँपालिका, खानिखोला गाउँपालिका, महाभारत गाउँपालिकाले पनि बजेटको अंक मात्रै प्रस्तुत गरेको छ । रोशी, चौरीदेउराली, भुम्लु लगायतका पालिकाहरुले पनि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । अघिल्लो वर्ष ढिलो प्रस्तुत गर्ने पालिकाहरुले यो वर्ष समयमै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । अधिकांश पालिकाहरुले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी बजेट प्रस्तुत गरेका छन् । वितरणमुखी बजेटमा निर्वाचनमुखी कार्यक्रम प्रस्तुत गरिएको छ ।
त्यस्तै नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ६५ करोड ५९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दसौं नगर सभामा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले ६५ करोड ५९ लाख ४७ हजार ५ सय ३० रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नु भएको हो । जसमध्ये चालुतर्फ ५० करोड ७७ लाख र पुँजीगततर्फ १४ करोड ८२ लाख ४७ हजार ५ सय ३० रुपैयाँ खर्च प्रस्ताव गरिएको छ । नगरसभा बैठकमा बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख तिमल्सिनाले स्थानीय सरकार, उत्तरदायी सरकार, विकाशशील सरकार, जनमुखी सरकार, बलियो सरकार राष्ट्र समृद्धि सरकार हामी सबैको उन्नतिको आधार भन्ने मान्यता सहित आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम तयार पारिएको बताउनु भयो । नगरपालिकाले आगामी आर्थिक बर्षमा प्रत्येक वडामा एउटा नगर गौरवको आयोजना सञ्चालन गर्ने नीति तय गरेको छ । समृद्ध नगरको अभियानलाई मुर्तरुप दिने गरी नीति तथा कार्यक्रम तय गरिएको र त्यसको प्रभावकारीरुपमा कार्यान्वयन गर्ने नगर प्रमुख तिमल्सिनाले बताउनु भयो । नमोबुद्धले नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने नीति तय गरेको छ भने किसानका गरा सधैं हराभरा मेरो कृषि मेरो पौरख नारासहित आगामी आर्थिक बर्षमा नमोबुद्ध युवा नवप्रवर्तन कृषि कार्यक्रम सञ्चालन गर्ने नीति तय गरेको छ ।
त्यस्तै सबै वडामा पशु तथा कृषि बिमा कार्यक्रम विस्तार गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, नगर भित्रै शीत भण्डारको व्यवस्था गर्ने, आधुनिक पशुपंक्षी बधशाला तथा कोल्डस्टोर स्थापनाका लागि पहल गर्ने नगरप्रमुख तिमल्सिनाले बताउनु भयो । डिजिटल कृषि, कृषकको हातमा सूचना प्रणाली कार्यक्रम सञ्चालन गर्ने, नमोबुद्ध सिड बैंक स्थापना गर्ने तथा पाडी संरक्षण कार्यक्रम सञ्चालन गर्ने तिमल्सिनाले बताउनु भयो । पर्यटन उद्यमीको हात नमोबुद्धको साथ नारासहित उद्योग, पर्यटन सहकारी तथा संस्कृति प्रर्वद्धनसम्वन्धी नीति तथा कार्यक्रम तय भएको छ । शिक्षा क्षेत्रको विकासका लागि पहिलो अक्षर क लेखौं आफ्नै सामुदायिक विद्यालयबाट कार्यक्रम सञ्चालन गर्दै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्दै शिक्षामा गुणस्तर वृद्धि गर्ने नीति तय भएको छ । विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन करार गर्ने, नगरभित्र कानुन तथा सामाजिक विश्वविद्यालय स्थापनाको पहल गर्ने नगर प्रमुख तिमल्सिनाले बताउनु भयो । नगर प्रमुख तिमल्सिनाले कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि अग्रपंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई नमोबुद्ध कोरोना योद्धा सम्मानको व्यवस्था गर्ने जानकारी पनि दिएका छन् । सुत्केरी हुने महिलालाई वडा कार्यालय मार्फत निःशुल्क एम्बुलेन्स वा अन्य यातायातको व्यवस्था गर्ने, एक घर एक आयुर्वेदिक औषधीको विरुवा रोपन कार्यक्रम सञ्चालन गर्ने, सुत्केरीसँग उपमेयर तथा गर्भवती महिला पोषण कार्यक्रम सञ्चालन गर्ने नीति पनि नमोबुद्ध नगरपालिकाले लिएको छ । महिला र बालबालिकामैत्री नीति तथा कार्यक्रमलाई जोड दिँदै नमोबुद्धले दुई छोरी मात्र जन्माएर स्थायी परिवारनियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने घोषणा पनि गरेको छ भने नमोबुद्ध नगरको इच्छा, छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा भन्ने नारालाई सार्थक बनाउने तथा किशोरीहरुलाई विभिन्नखाले हिंसाबाट बच्न आत्मरक्षा तालिम सञ्चालन गर्ने तथा बालश्रममुक्त नगर घोषणा गरिने नगर प्रमुख तिमल्सिनाले बताउनु भयो । आगामी आर्थिक बर्षभित्र सबै वडाको आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने तथा २० बर्षे दीर्घकालिन सोचका साथ एकीकृत नगर विकास योजना सञ्चालन गर्ने तिमल्सिनाले जानकारी दिएका छन् । नमोबुद्ध नगर चक्रपथ निर्माण, नमोबुद्ध वृहत खानेपानी आयोजनाको कार्यान्वयन, नमोबुद्ध बालमैत्री पार्क निर्माण, सबै स्वास्थ्य संस्थाको भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसमेत लिइएको छ ।
नगरसभा बैठकमा उपप्रमुख रामदेवी तामाङले चालु आर्थिक बर्षको प्रगति विवरण पेश गर्नु भएको थियो । चालु आर्थिक बर्षमा ७१ करोड ५१ लाख ९९ हजार २ सय ७० रुपैयाँ बिनियोजन भएकोमा हालसम्म ३८ करोड ७७ लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिनु भयो । कारोना भाइरस महामारीका बाबजुद अधिकांश नगरस्तरीय र वडास्तरीय योजनाहरु सम्पन्न हुने चरणमा रहेको र आर्थिक बर्षको अन्त्यसम्ममा अपेक्षाकृत प्रगति हासिल हुने तामाङले बताउनु भयो । बैठकमा विधायन समिति संयोजक एवं वडा नम्वर २ का अध्यक्ष सञ्जीव ढकालले विनियोजन विधेयक २०७८, सार्वजनिक लेखा समिति संयोजक एवं वडा नम्वर १० का अध्यक्ष रामकष्ण अधिकारीले आर्थिक विधेयक २०७८ पेश गरेका थिए । बजेट अधिवेशनको दोस्रो बैठक असार २८ गते बस्ने प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले बताउनु भयो ।









