2026 April 24/ 02:21: 48am

    भकुण्डे/नमोबुद्ध नगरपालिकाले व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भंैसी वितरण कार्य सुरु गरेको छ । 
    नगरपालिकाले शुक्रबार वडा नम्वर १० बाट किसानलाई भैंसी वितरण कार्यको शुरुवात गरेको हो । शुक्रबार आयोजित कार्यक्रममा वडा नम्वर १० का ५५ जना पशुपालक किसानलाई थोरे भैंसी वितरण गरिएको छ । किसानलाई ८० प्रतिशत अनुदानमा भैसी वितरण गरिएको हो । नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले चुनावी प्रतिबद्धतालाई कार्यान्वयन गर्दै जाने क्रममा कृषि र पशुपालनमा नगरका किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित यो कार्यक्रमको सुरुवात गरिएको बताएका छन् । वडा नम्वर १० को कार्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नम्वर ९ का वडा अध्यक्ष एवं नगरपालिकाका कृषि समिति संयोजक मेलवहादुर लामा, वडा नम्वर १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, नगरपालिकाको पशु विकास शाखाका प्रमुख चिरञ्जीवी शर्मा लगायतले किसानलाई भैंसी वितरण गर्दै अभियानको सुरुवात गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले यस बर्षबाट सुरु भएको भंैसी वितरण कार्यक्रमलाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिने बताए । नगरभरिका किसानलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित कार्यक्रम सुरु गरिएको पनि जानकारी दिए । अनुदानमा वितरण गरिएको सबै भंैसीको बिमा समेत गरिएको उनले बताए । 
    नगरमा कृषि र पशुपालन क्षेत्रको विकासका लागि थय कार्ययोजनासमेत बनाइएको उनले बताए । वडा नं १० का अध्यक्ष रामकृष्ण अधिकारीले वडामा वितरण गरिएका भैसीमध्ये सबैभन्दा पहिला सुत्केरी हुने भैंसीपालक किसानलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा पनि कार्यक्रममा गरे । अधिकारीका अनुसार वडा समितिले एकल महिला, असहाय र लामो समयदेखि पशुपालनको क्षेत्रमा लागेका किसानलाई प्राथमिकताको आधारमा भैसी वितरण गरेको छ । छुट भएका किसानका लागि आगामी बर्षको कार्यक्रममा समेटिने अधिकारीले बताए । उनका अनुसार वडा कार्यालयमा आवेदन दिएका मध्ये छनोटमा परी अनुदानमा भैसी प्राप्त गर्ने किसानले २० प्रतिशत रकम लगानी गर्नुपर्नेछ भने बाँकी रकम नगरपालिकाले ब्यहोरेको छ । यसमा बिमाको रकमसमेत समावेश हुने अधिकारीले जानकारी दिएका छन् ।
नमोबुद्ध नगरपालिकाले भैंसी वितरण कार्यक्रमका लागि नगरपालिकाबाट २१ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने संघीय सरकारबाट पनि २१ लाख ३३ हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै प्रदेश सरकारबाट १२ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । चालु आर्थिक बर्षमा वडा नं. १० का लागि ५५, ९ मा ४०, ८ मा २५, ११ मा २० र १ मा १५ जना गरी १ सय ५५ जना किसानलाई १ सय ५५ वटा उन्नत जातका भैसी वितरण गरिनेछ । नगरपालिकाले डेढ बर्ष उमेर पुगेका मुर्रा जातका भैसी वितरण गरेको पशु शाखा प्रमुख चिरञ्जीवी शर्माले जानकारी दिएका छन् । उनका अनुसार भैसी वितरण कार्यक्रम पछि आगामी बर्ष भैसीलाई सुत्केरी भत्ताको व्यवस्थासमेत गरिनेछ ।  
    नमोबुद्ध नगरपालिकाले चालु आर्थिक बर्षबाटै अभियानकै रुपमा पशुबिमा कार्यक्रमसमेत सुरु गरिसकेको छ । अहिलेसम्म वडा नं. १० मा ४ सय भन्दा बढी पशुको बिमा गरिसकिएको छ भने अहिले वडा नं. ९ मा अभियान सञ्चालन भइरहेको छ । चालु आर्थिक बर्षमै वडा नं. ४ र ५ मा १ सय २५ वटा बाख्रा वितरणको कार्यसमेत गरिँदैछ । यसका लागि टेण्डर आह्वान भई खरिद प्रक्रिया सुरु भइसकेको नगरपालिकाले जनाएको छ । जिल्लामा पनौती नगरपालिकाले पहिलो पटक भैंसीको थोरे वितरण गरी भैंसी संरक्षण अभियान शुरु गरेको थियो ।