बेथानचोक/लकडाउनको समयलाई सदुपयोग गर्दै बेथानचोक वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । बेथानचोक गाउँपालिकामा क्रियाशिल संस्थाहरुको आयोजनामा जुुममार्फत कार्यक्रम संचालन हुन लागेको हो ।
बेथानचोक क्षेत्र भित्रको पर्यटन विकासका सम्भाव्यता र तिनीहरुको महत्वलाई प्रचार प्रसार गर्नुको साथै युवाहरुमा रहेको बौद्धिक तथा तार्किक क्षमताको उजागर गर्ने उद्देश्यले बेथानचोक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हातेमालो युवा समाजका सचिव सन्तोष तिमल्सिनाले जानकारी दिए । असार ५ गते शनिवार जुम मार्फत संचालन हुने उक्त प्रतियोगितामा बेथानचोक गाँउपालिकाका १६ देखि ४० बर्षसम्मका व्यक्तिहरुले सहभागिता जनाउन पाउने छन् । हातेमालो युवा समाज, बेथानचोक जेसिज, पार्वती एलुम्नाई एशोसिएशन नेपाल र बेथानचोक क्षेत्र सरोकार समाजको संयुक्त आयोजना रहेको उक्त प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार, द्वितीय पुरस्कार ५ हजार, तृतीय पुरस्कार ३ हजार र सान्त्वना पुरस्कार १ हजार रहेको छ ।









