2026 April 24/ 02:21: 47am

    मण्डनदेउपुर/आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि संघीयता पछि घोषणा भएको मण्डनदेउपुर नगरपालिकामा मन्त्रालयगत बजेट विनियोजन हुँदा दुई दर्जन भन्दा धेरै योजनाहरु समेटिएका छन् । पूर्व मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नम्वर २ का पूर्व सदस्य गोकुल बास्कोटाको जन्मस्थान रहेको उक्त पालिकाकाको लागि जिल्लामा जस्तै प्राथमिकतामा बजेट विनियोजन गरिएको छ । 
     भौतिक पूर्वाधार विकासमा आधार तयार गर्ने गरि संघीय सरकार मार्फत उक्त योजनाहरु सम्बोधन भएको हो पूर्व मन्त्री बास्कोटाले बताउनु भयो । बैकल्पिक राजमार्गको समाबेश, निर्वाचन रणनीतिक सडक, शहरी पूर्वाधार निर्माण, नदि नियन्त्रण, सिंचाई, मण्डनदेउपुर बृहत खानेपानी, पर्यटन पार्क झोलुङ्गे पुल लगायतका महत्वपूर्ण कार्यक्रम समाबेश भएको पूर्वमन्त्री बास्कोटाले बताउनु भयो । भौतिक पूर्वाधार मन्त्रालय मार्फत विनियोजन भएका योजनाहरु मध्ये नगरकोट गैरिबिसौना हिंगुवापाटी दोलालघाट सडक अब बैकल्पिक राजमार्गमा समाबेश भएको छ । जसका लागि २ करोड बिनियोजन भएको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत हिगुवापाटी चण्डेनी दोलालघाट सडकका लागि १ करोड २० लाख, नगरकोट गैरिबिसौना हिंगुवापाटी सडक १५ करोडको ठेक्का सम्झौता भै निर्माण चलिरहेको छ । यो योजना चालु आर्थिक वर्षमा पनि समाबेश छ । नगरकोट देउपुर ढाडखोला सडकका लागि २४ लाख रकम विनियोजन भएको छ । शहरी विकास मन्त्रालय मार्फत मण्डनदेउपुर नगरपालिकामा शहरी पूर्वाधार निर्माण कार्यका लागि २ करोड रकम बिनियोजन भएको छ । यो योजनामा विभिन्न योजनाहरु समाबेश छन् । डिपिआर निर्माण र प्राविधिक प्रतिवेदनका आधारमा आर्थिक वर्षमा २०७८÷०७९ मा ६ करोडको काम अगाडि बढ्ने छ । नर्सरी नौबिसे पौवाटार सडकका लागि ५० लाख, तिनकुने ढकालथोक सिपाघाट सडक ५० लाख, नगरकोट चिते पर्यटकीय सडक मण्डनदेउपुर २ का लागि ५० लाख रकम विनियोजन भएको छ । 
    सिँचाई तथा जलश्रोत मन्त्रालय अन्तर्गत सिपाघाट बजार क्षेत्र संरक्षण कार्य काभ्रेका लागि १५ लाख रकम विनियोजन भएको छ । यस योजना अन्तर्गत डिपिआर रिपोर्ट तयार गरि सिपाघाट बजार क्षेत्रमा तटबन्ध तथा अन्य संरक्षणका काम अगाडि बढ्ने योजना बनाईएको । गेरुवा लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर ७ का लागि ३० लाख, जुडिगाँउ लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर ८ का लागि ३० लाख, रानिटार लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर ९ का लागि ३० लाख, ज्वानेटार लिफ्ट सिंचाई योजना मण्डनदेउपुर १० का लागि १० लाख, ठुल्डी लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर १२ का लागि १ करोड १० लाख रकम विनियोजन भएको छ । 
    खानेपानी मन्त्रालय अन्तर्गत मण्डनदेउपुर बृहत खानेपानी योजनाका लागि चालु आर्थिक वर्षमा १७ करोड बिनियोजन भएको छ । वहुबर्षिय ठेक्का सुचना चालू आवमा नै प्रकाशन भएको आर्थिक वर्ष २०७८÷०७९ मा निर्माण कार्य सुरु हुने छ । त्यस्तै कालिकास्थान खानेपानी योजना मण्डनदेउपुर ५ र ६ मा १० लाख, कुन्ताबेशी खानेपानी योजना समेटिएको छ । पर्यटन मन्त्रालय मार्फत नगरकोटमा बृहत इको पर्यटन पार्क निर्माणका लागि ३६ लाख, गणेश मन्दिर निर्माण मण्डनदेउपुर ६ का लागि १० लाख, आपखोला बगर कुलो निर्माण मण्डनदेउपुर ७ का लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 
    समपूरक र बिशेष अनुदान अन्र्तगत कुन्ता नयाँगाउँ नगरकोट सडक कालोपत्रे ४ करोड १५ लाख, डेडिदेबी खानेपानी योजना मण्डनदेउपुरका लागि ८३ लाख, दुवागाउँ खानेपानी योजना मण्डनदेउपुरका लागि १ करोड ५८ लाख रुपैयाँ विनियोजन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत टोड्के खोला सडक पुल निर्माण मण्डनदेउपुर ९, १० का लागि १ करोड, चाखोला ह्वाङ्ह्वाङे मोटरपुल जुडिगाउँ रानीटार जोड्ने २० लाख, हल्देटार सुकुटेबगर माझीगाँउ तोरीखोला झोलुङ्गे पुल मण्डनदेउपुरका लागि ५० लाख रकम विनियोजन भएको छ । मण्डन देउपुरका अन्य योजनाहरु अझै केही मन्त्रालय र बिभाग मार्फत समावेश भएका छन् ।