2026 April 24/ 02:21: 52am

    भकुण्डे/नमोबुद्ध नगरपालिका वडा नम्वर ५ कानपुरका कृषकलाई मिनिटेलर वितरण गरिएको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको उपस्थितिमा शुक्रबार वडा नम्वर ५ कानपुरका किसानलाई मिनिटेलर वितरण गरिएको हो । खेतीपातीको मौसमलाई मध्यनजर गर्दै नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि कार्यक्रम अन्तर्गत ३२ ओटा मिनिटेलर वितरण गरिएको थियो ।
    मिनिटेलर वितरण गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले कृषकहरुलाई कृषि औजार वितरण गर्ने क्रममा राज्यद्वारा अनुदान स्वरुप दिएको सामाग्री लक्षित वर्गका हातमा पर्नुपर्नेमा जोड दिए । राज्यले दिएको सम्पत्ति किसानहरुले सही सदुपयोग गरेमा आगामी दिनहरुमा पनि यस्तै खालका सहयोग गर्न सहज हुने उनले बताए । कोरोना महामारीको समयमा पनि स्वास्थ्य मापदण्ड अपनाएर किसानलाई मिनिटेलर वितरण गरिएको नमोबुद्ध ५ का वडाध्यक्ष बुद्ध सिं तामाङले बताएका छन् । अहिले नगरपालिका भित्र निषेधाज्ञा जारी रहेको अवस्थामा पनि किसानले समयमै कृषियन्त्र पाउन नसके त्यसको अर्थ नहुने भएकाले विषम परिस्थितिमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर मिनिटेलर वितरण गरिएको तामाङले जानकारी दिए । खेतीपातीकै समयमा कृषि औजार पाएकोमा खुशी व्यक्त गर्दै स्थानीय कृषकहरुले आगामी बर्षहरुमा पनि यसै गरी अन्य कृषि सामग्रीहरु लगायत बिउ बिजनहरुको समेत वितरण गर्न वडा नगरलाई आग्रह गरेका छन् ।