धुलिखेल/दैनिक संक्रमित बढे पछि जिल्ला संकट ब्यवस्थापन केन्द्रले शनिबार निषेधाज्ञा जारी गरी आईतबार मध्यरातिबाट निषेधाज्ञा गरेको छ । आईतबारबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी एवं संकट ब्यवस्थापन केन्द्रका संयोजक शिवराम पोखरेलले जानकारी दिनु भयो ।
स्वास्थ्य मन्त्रालयले काभ्रेपलाञ्चोक लगायतका २२ वटा जिल्लालाई अति संवेदनशिल घोषणा गरिसकेको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जिल्लालाई पूर्ण रुपमा निषेधाज्ञा गर्नु पर्ने बताउनु भयो । ‘संक्रमितको संख्या उकालो चढिरहेको, स्वास्थ्य मन्त्रालयले अति संवेदनशिल जिल्ला घोषणा गरेको, संक्रमितहरुको अक्सिजनको लेभल घट्दै गएको र उपचारका लागि कठिन परिस्थिती सिर्जना भईसकेको छ’–डा.झाले भन्नुभयो–‘संक्रमण रोक्न तत्काल जिल्ला भरी पुर्ण निषेधाज्ञा लगायत अन्य सुरक्षाका उपाय अपनाउँदै संक्रमण फैलन दिनु हुँदैन ।’ ‘जिल्लाको अवस्था हेरेर थप निषेधाज्ञाको निर्णय गर्नेछौं’–प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘त्यसकै तयारीका लागि शुक्रबार जिल्लाका स्थानीय सरकारका प्रमुखहरु लगायत सरोकारवाला निकायको बैठक आयोजना गरिएको हो । अन्य तयारी गरिरहेकाले नागरिकहरुको भिडभाड रोक्न आईतबार देखि केहि क्षेत्रलाई निषेधाज्ञा लगाउने निर्णय गरिएको छ ।’ निषेधाज्ञा सम्बन्धी निर्णय गर्ने अधिकार सरकारले स्थानीय प्रशासनलाई छ ।
उपत्यकासँग जोडिएको र दुईवटा प्रमुख राजमार्ग भएको काभ्रेपलाञ्चोक जिल्ला अति संवेदनशिल जिल्लाका रुपमा लिईएको छ । स्थानीय प्रशासनले जिल्लाका प्रमुख शहरहरु बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर, पाँचखाल, नमोबुद्ध नगरपालिका अन्र्तगत मुख्य बजारचोक र राजमार्गबाट ५ सय मिटर देखि १ किलोमिटरसम्म निषेधाज्ञा गरिएको छ । त्यस्तै रोशी गाउँपालिकाको विपी राजमार्ग अन्र्तगत मंगलटारको क्षेत्र भित्र निषेधाज्ञा गरिएको छ । पनौती, बनेपा र धुलिखेलका केहि क्षेत्र संक्रमणको मुख्य केन्द्र बनिरहेको छ । राजमार्ग संचालनमा आईरहँदा आवतजावत धेरै हुने र संक्रमण फैलने भएकाले निषेधाज्ञा गर्ने योजना शुक्रबार गरिएको थियो ।
शुक्रबार बैशाख १७ गते आयोजना गरिएको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकमा सहभागि अधिकांश स्थानीय सरकार प्रमुखहरु, नागरिक समाजका प्रतिनिधिहरु र विभिन्न संस्थाका प्रतिनिधिहरुले संवेदनशिल हुन अनुरोध गरेको थियो । संक्रमण फैलिरहँदा विवाह र भोज रोकिएका छैनन । खचाखच भिडभाडले संक्रमण बढिरहेको छ । विहिबार दिउसो पनौती नगरपालिकाले १० जनाको स्वाव नमुनाका रुपमा परिक्षण गर्दा ९ जना संक्रमित फेला परेका थिए । बनेपामा सबै भन्दा धेरै २७, पनौतीमा १७ र धुलिखेलमा वडा सचिव सहित १४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिनेमा चिकित्सकहरु पनि छन् । जसले दुबै डोज खोप लगाएका छन् । जिल्लामा १० जना डाक्टर, केहि नर्स तथा अस्पतालमा कार्यरत अन्य तहका कर्मचारीहरु पनि संक्रमित भएका छन् ।
विपद् ब्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मनसुन पुर्व तयारीका बारेमा जानकारी गराउनु भएको थियो । जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, रोशी गाउँपालिका प्रमुख डिबी लामा, बेथान्चोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिना, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा लगायतले विपद र संक्रमण रोक्न स्थानीय सरकार र प्रशासन बीच समन्वय आवश्यक रहेको बताउनु भयो । सोहि बैठकमा प्रमुख प्रशासकिय अधिकृतहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु र नागरिक समाजका प्रतिनिधिहरु सहभागि थिए ।









