2026 April 24/ 01:51: 41am

– बैशाख १० गते छोराको विवाह आयोजना गरी घरमै भोज आयोजना गरेको पनौती नगरपालिका १० खोपासी घर भएकी ५२ बर्षिया महिलाको कोरोना संक्रमणका कारण बैशाख १५ गते राति उपचारका क्रममा निधन भयो । विवाहमा सहभागि मध्ये ३० जना संक्रमित भए । थप केहिको परिक्षण हुँदैछ । 

– बनेपा नगरपालिका वडा नम्वर ४ घर भएका एक युवाले बैशाख १० गते सिन्धुपाल्चोकमा विवाह गरे । बैशाख ११ गते पाटी प्यालेसमा भोज गरे । बैशाख १२ गते श्रीमतीको नागरिकता बनाउन धुलिखेल पुगे । तीन घण्टाको भिड छिचोल्दै नागरिकता लिएर घर आए । १३ गते कलंकी स्थित म्यानपावर कम्पनीमा पुगे । लगत्तै स्टार अस्पतालमा ७ घण्टा लाईन बसेर स्वाब दिएर घर फर्किए । मोवाईलमा म्यासेज आयो पोजेटिभ । १४ गते बहराईन जाने उनको भिसा रोकियो । उनको सम्पर्कमा आएका छिमेकीहरु केहिलाई संक्रमण देखिएको छ । सोहि क्षेत्रमा संक्रमितहरुको संख्या बढिरहेको छ ।

– बनेपा नगरपालिका वडा नम्वर ४ का एक युवा बैशाख १२ गते बनेपाको पाटी प्यालेसमा आयोजना भएको विवाहको भोजमा सहभागि भए । लगत्तै उनलाई ज्वरो आयो । काठमाडौको स्टार अस्पतालमा पुगेर कोरोना परिक्षण गराए । पोजेटिभ भएको रिपोर्ट आएसँगै उनी होम आईसोलेसनमा बसे । उनीसँगै विवाहमा भोज खान लाईन बसेका वा उनले भेटेका कति संक्रमित भए ? खोजी भएको छैन । 

– बनेपा नगरपालिका वडा नम्वर ३ र ४ मा मात्रै १५ घर परिवारमा कोरोना संक्रमण देखिएको छ । स्थानीय सरकारले सम्पर्कका आधारमा परिक्षण गर्ने र संक्रमण फैलन नदिन रोकथामका कुनै उपाय अपनाएको छैन । दैनिक विवाह र विवाहका भोजमा सहभागि हुने क्रम बढेको छ । विवाहमा सहभागि हुनेहरुमा संक्रमण देखिए पनि पाटी प्यालेसमा हुने भिडभाड कम भएको छैन । 

– बैशाख ९ गते पाँचखाल कोशिदेखा घर भएका २४ बर्षिय युवकमा संक्रमण देखियो । ११ गते विवाहको तयारी गरेका युवकका घरमा पाहुना चिन्तित देखिए । परिवारका सदस्यहरुलाई पनि संक्रमण देखियो । युवक अस्पतालमा उपचारार्थ छन् । 

– आमालाई निमोनियाको शंका लागेर धुलिखेल अस्पताल पुगेका बनेपा नालाका युवकले अस्पतालकै दुई थरीको रिपोर्टका कारण दुःख पाएको बताउनु भयो । अस्पतालबाटै आमालाई संक्रमण भएको र अन्य ब्यक्तिमा पनि संक्रमण फैलिएको उहाँको गुनासो छ । 
    यि प्रतिनिधि मुलक घटना हुन् । विवाहकै कारण समुदायमा संक्रमण दु्र्रत गतिमा फैलदै गएको घटनाहरुले पुष्टि गरेका छन् । बैशाख १७ गते शुक्रबार जिल्लाका १३ वटै स्थानीय तहमा झण्डै १०० भन्दा धेरै विवाह आयोजना भएका छन् । स्थानीय सरकार विवाहमा भिडभाड नगर्न, सुरक्षाका उपाय अपनाउन अनुरोध गर्ने बाहेक थप तयारीमा छैनन । भोली शुक्रबार पनि जिल्लामा थुप्रै विवाह आयोजना भएका छन् ।  संक्रमण रोग नियन्त्रण ऐन अन्र्तगत यस्ता गतिविधि गर्नेहरुलाई कारवाही गर्न सक्ने भए पनि स्थानीय सरकार त्यस तर्फ चासो नदिई आफै विवाहमा सहभागि भई बधाई तथा शुभकामना दिन ब्यस्त छन् । 
    काभ्रेपलाञ्चोक जिल्लामा हिजो बुधबार रातिसम्म एक साताको अवधीमा १० भन्दा धेरैको निधन भएको छ । ‘संक्रमण हुनेको संख्या बढिरहेको र मृत्युको क्रम शुरु भएकाले सचेत हुनुको विकल्प छैन’–डा.नरेन्द्रकुमार झाले बताउनु भयो–‘संक्रमितहरुको अवस्थाका बारेमा स्थानीय सरकारले जानकारी राख्ने र श्वासप्रश्वास तथा अन्य कुनै समस्या भए तत्काल अस्पताल लैजाने ब्यवस्था मिलाउन आवश्यक छ ।’ स्थानीय सरकार तथा प्रशासनले तत्काल निषेधाज्ञा जारी गरी संक्रमण फैलन रोक्नुपर्ने उहाँको भनाई छ । 
    समुदायमा संक्रमण फैलिसकेकाले त्यसलाई रोक्न भिडभाड नगर्ने, शुभकार्यमा समेत थोरै ब्यक्तिहरु जम्मा हुने, स्वास्थ्य सुरक्षाका उपाय अपनाउने तर्फ ध्यान दिनुपर्ने धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।