बनेपा/नेपाल सरकार स्थानीय स्वायत्त शासनअन्तर्गत बनेपा नगरपालिकाको शिक्षा शाखाले स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो बनेपा, हाम्रो गौरव’ पाठ्यपुस्तक प्रकाशन गरी विद्यालय शिक्षणमा लागु गरेको छ ।
पुस्तकले विद्यार्थीहरूमा स्थानीय गौरवका विषय वस्तुहरूको पहिचान, स्वावलम्वन तथा व्यवहारिक सीप र क्षमताको विकासमा जोड दिनुका साथै विद्यालय परिसरलाई वातावरण मैत्री बनाई हरित विद्यालय निर्माणका लागि सामूहिक प्रयासको आवश्यकतालाई समेत औँल्याएको बताएको छ ।
सन्दर्भमा विद्यार्थीहरू सैद्धान्तिक ज्ञानमा मात्र नभई व्यावहारिक सीपमा पनि उत्तिकै सक्षम हुन सकून् भन्ने अभिप्रायले इनोभेटिभ एकेडेमी बनेपाले कक्षा आठका विद्यार्थीहरूको सहभागितामा ११ सदस्यीय वातावरण मैत्री इको–क्लब गठन गरेको हो । छात्र अनिल आले मगरको अध्यक्षतामा गठित उक्त इको–क्लबको उपाध्यक्षमा मुना हुमागाईं, सचिव स्वीकृति शाह, सह–सचिव विवेक भारती, कोषाध्यक्ष श्रीवेक मानन्धर र सदस्यहरूमा प्राश्ना पोटे, नवीन गौतम, रोजिना दुलाल, अनुषा घले, प्रगति तामाङ, सुस्मिता ढोडारी र सृष्टि चौधरी रहेका छन् भने सल्लाहकारमा सोही विद्यालयकी प्रिन्सिपल पुनम श्रेष्ठ, शिक्षक चन्द्र सुवेदी र शिक्षिका निर्मला श्रेष्ठ रहनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. के.बी. मानन्धरको प्रमुख संरक्षकत्वमा गठन भएको क्लबले ‘स्वच्छ र हरित वातावरण स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ आगामी विश्व वातावरण दिवस (५ जुन) का दिन चेतना रयाली (नगर परिक्रमा), टोल सरसफाइ, गमला वितरण र वृक्षारोपण गर्ने योजना बनाएको छ ।









