भकुण्डेबेशी/नमोबुद्ध नगरपालिकाका युवाहरुका लागि नेतृत्व विकास गर्ने उद्देश्य सहित नमुना नगर युवा सभाको अभ्यास कार्यक्रम सुरु भएको छ ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गर्नु भएको थियो । कार्यक्रम नमोबुद्ध नगरपालिका नगर युवा परिषदको आयोजना तथा राष्ट्रिय युवा परिषद तथा सरोकार समाज नेपालको समन्वयमा सञ्चालन गरिएको हो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका विभिन्न वडाका १६ देखि २४ बर्षसम्मका ३५ जना युवाको सहभागिता रहेको छ । सहभागीहरुलाई नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनाल र युवा अभियन्ता सन्जीप न्यौपानेले प्रशिक्षण दिएका छन् ।
कार्यक्रममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्दै लैजान युवाहरुलाई आग्रह पनि गरेका थिए । नगर प्रमुख तिमल्सिनाले राजनीतिक क्षेत्रमा युवाहरुको सहभागिताले समृद्ध नेपालको अभियानमा थप टेवा पुग्ने पनि बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले राज्यको मार्गचित्र कोर्ने अभ्यासको थालनी नमोबुद्ध नगरपालिकाले गरेको बताए । नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले युवालाई जिम्मेवार बनाउन, युवाको सवाल पहिचानसहित समाधानका उपाय निकाल्न कार्यक्रम आयोजना गरिएको बताए । उनले युवाका सवाल र समस्या पहिचान गर्दै समाधानका उपायसहितको विवरण नगरपालिकामा पेश गर्ने जानकारी दिए ।
नमोबुद्ध नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव जनार्दन रिजालले युवाहरुका लागि राजनीतिक एवं कानुनी अभ्यास सिक्ने अवसरको रुपमा कार्यक्रम आयोजना भएको बताए । यस्ता कार्यक्रम व्यक्तित्व विकासका लागि मौकाको रुपमा रहेको भन्दै उनले क्षमता विकास, शिक्षा आर्जन र सामाजिक कार्यमा ध्यान दिनुपर्ने बताए ।









