बनेपा/बनेपा नगरपालिका वडा नम्बर ५ ले वडामा रहेका महिलाहरुलाई ७ दिने अचार बनाउने तालिम प्रदान गरेको छ ।
तालिमको समापनमा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । दाहालले नगरपालिकाले सबै वडामा महिला लक्षित कार्यक्रमहरु ल्ययाएकोले सहभागी हुन अनुरोध गर्नुभयो । सबै वडामा आवश्यकता र माग अनुसारको तालिमहरु प्रदान गरिएको उहाँले बताउनु भयो । सबै नागरिकहरुलाई रोजगार बनाई आयस्तर उकास्न र आर्थिक जीविकोपार्जनका लागि लागिरहेको उहाँले बताउनु भयो । नगरले विभिन्न युवा तथा महिलाहरुलाई सिपमूलक तालिम प्रदान गर्दै आएको र सो तालिमको सदुपयोग गर्न सबै दिदीबहिनीहरुलाई नगरका हरेक कार्यक्रममा सहभागी जनाउन उपप्रमुख दाहालले आग्रह गर्नुभयो ।
नगरले सिलाई बुनाई, अचार बनाउने, कौसी खेती, सवारी चालक तालिम, कम्प्युटर तालिम लगायत विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ । कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारीले वडाका सबै टोललाई समेटी उक्त तालिम प्रदान गरिएको बताउनु भयो । अधिकारीले तालिमलाई त्यसमा मात्रै सिमित नगरी ब्यबहारमा उतारी आत्मनिर्भर बन्नु पर्ने बताउनु भयो । नगरले कृषि, खानेपानी, सडक, स्वास्थ्य चौकी, शिक्षा क्षेत्रमा काम गरिरहेको उहाँले बताउनु भयो । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा अधिकृत विजया सुबेदी, निर्मला कार्की, वडा सदस्य राजकुमार श्रेष्ठ, तालिममा सहभागि लक्ष्मी थापा लगायतले मन्तब्य राख्नु भएको थियो । तालिममा पुण्य लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो भने ३४ जना सहभागि रहेका थिए । कार्यक्रम तालिम संयोजक तथा कार्यपालिका सदस्य उर्मिला बैधको सभापतित्वमा सम्पन्न भएको थियो ।









