अब आफ्नै भवन बन्ने, नगरपालिकाले उपलब्ध गरायो निःशुल्क जग्गा
बनेपा/नेपाल हृदयरोग प्रतिष्ठान काभ्रे शाखाको २६ औं साधारण सभाले पुनः अशोक कुमार श्रेष्ठलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको छ । सोहि सभाबाट शाखाको पदाधिकारी सदस्यहरुमा नवराज मानन्धर, ग्रुवेन तौजले, टिकाभक्त भोछिभोया, हरिशरण श्रेष्ठ, सिद्धिबहादुर कर्मचार्य, रामप्यारी श्रेष्ठ, महेन्द्र जोशी, कमला कर्माचार्य, निर्मला कायस्थ, सत्यनारायण भालु र सर्वश्री अधिकारी रहनु भएको छ ।
सभामा बनेपा नगरपालिकाले वडा नम्वर ८ मा उपलब्ध गराएको ८ आना जग्गामा प्रतिष्ठानको भवन शिलन्यास गरिएको जानकारी गराईएको थियो । उक्त भवनको बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले शिल्यान्यास गर्नु भएको थियो । बादेले भवन शिल्यान्यास गर्दै नगरमा अन्य पूर्वाधारको विकास सँगै स्वास्थ्य क्षेत्रमा समेत विशेष कार्य गरिरहेको बताउनु भयो । नगरले ३ वर्ष अघि देखि नै नगरवासीहरुको स्वास्थ्यमा ध्यान दिई आँखाको मोतिविन्दु भएका विरामीहरुको निःशुल्क उपचार गर्दै आएको, कोभिड १९ मा विशेष ध्यान दिई आईसोलेशन र क्वारेन्टाईन मार्फत नगरबासीहरुलाई सुरक्षित बनाएको, बनेपा वडा नम्बर ४ मा १५ शैयाको अस्पताल निमार्णका लागी प्रक्रिया शुरु गरिसकेको बताउनु भयो । हृदयरोग प्रतिष्ठानको अस्पतालमा मुटुका विरामीहरुले तुरुन्त उपचार पाउन सहज होस भनेर नगरपालिकाको तर्फबाट निःशुल्क जग्गा उपलब्ध गराएको उहाँले बताउनु भयो ।
साधारण सभामा विशेष अथिति पूर्व अध्यक्ष हरिभक्त भोक्षिभोया, बनेपा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दानबहादुर मानन्धर, पतञ्जली योग समिती काभ्रेका अध्यक्ष दमनकुमार श्रेष्ठ लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन सचिव टिकाभक्त भोछिभोयाले राख्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष ग्रुबेन तौजलेले राख्नु भएको थियो । कार्यक्रममा बनेपाका शिक्षासेवीद्वय राजेन्द्र जोशी र रामेश्वर मकै श्रेष्ठलाई स्व. विमल सिकु श्रेष्ठको स्वास्थ्य सेवा पुरस्कारबाट सम्मान गरिएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष अशोक कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।









