2026 April 24/ 12:15: 37am

    बनेपा/जिल्लामा बसेर नेपालकै गौरव बढाउने काम गर्नुभएका साहित्यकार, भाषासेवी, ग्रन्थसम्पादक, साहित्यिक सङ्गठक तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई ‘शब्दसारथि’ उपाधि प्रदान गरिएको छ । 
    काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, भ्रष्टाचार विरोधी अभियन्ता भरत जङ्गम, पूर्वमन्त्री कान्ता भट्टराई, समाजसेवी सावित्री थापा, नियात्राकार घनश्याम राजकर्णिकार, नियात्राकार पोष चापागाई, बालसाहित्यकार गोपाल पराजुली, साहित्यिक पत्रकार चेतनाथ धमला, साहित्यकार नवीना श्रेष्ठ, समाजसेवी बेलप्रसाद श्रेष्ठ, गीतिभास्कर मच्छेश्वर सापकोटा, पूर्वप्रशासक चन्द्रबहादुर खड्का, पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ, ग्रन्थसम्पादक जीवनचन्द्र कोइराला, शिक्षासेवी रामप्रसाद अधिकारी लगायत ३० जना व्यक्तिहरूले हस्ताक्षर गरेर ‘शब्दसारथि’ उपाधि प्रदान गरिएको हो । उपाधिको अभिवन्दनापत्र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र भ्रष्टाचारविरोधी अभियन्ता भरत जङ्गमले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो । 
काभ्रेपलान्चोक जिल्लामा जनस्तरबाट उपाधि प्रदान गरिएको यो तेस्रोपटक हो । पहिलोपटक शिक्षासेवी तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई अक्षरधामको सक्रियतामा शैक्षिक शिरोभूषण उपाधि र दोस्रोपटक गीतकार, सङ्गीतकार तथा गायक मच्छेश्वर सापकोटालाई शब्दयात्रा प्रकाशनको सक्रियतामा गीतिभास्कर उपाधि प्रदान गरिएको थियो । तेस्रोपटक हरि मञ्जुश्रीले ‘शब्दसारथि’ उपाधि प्राप्त गर्नुभएको छ । उपाधिको स्मृतिचिह्नका रूपमा हरि मञ्जुश्रीलाई डा. भोला थापाले ‘शब्दसारथि’ लेखिएको पदक प्रदान गर्नुभएको थियो । 
उपाधि गर्ने क्रममा हरि मञ्जुश्रीलाई त्यही समारोहमा ६ फिट अग्लो ताम्रपत्रबाट पनि अभिवन्दना गरिएको थियो । डा. भोला थापा र भरत जङ्गमले ताम्रपत्रमा लेखिएको अभिवन्दना समर्पण गर्नुभएको थियो । अभिवन्दित व्यक्तिको कदभन्दा अग्लो ताम्रपत्र यसअघिका सार्वजनिक समारोहमा प्रदान गरिएको थिएन । समारोहमा उपस्थित सबैजनाले दस्तखत गरेर तयार पारेको ६ फिट लम्बाइ र ६ फिट उचाइको बृहत् सम्मानपत्र पनि हरि मञ्जुश्रीलाई हस्तान्तरण गरिएको थियो ।  
समारोहमा हरि मञ्जुश्रीलाई काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौँ, खोटाङ र ओखलढुङ्गा जिल्लाका विभिन्न ६० वटा संस्थाले सम्मान समर्पण गरेका थिए । यसअघि काभ्रे जिल्लामा डा. सुरेशराज शर्मालाई मात्र ६० वटा संस्थाले एकै दिन सम्मानपत्र प्रदान गरेका थिए । समारोहमा हरि मञ्जुश्रीका विषयमा १ सय ३७ जना लेखकका लेखहरू समावेश भएको ६ सय ४८ पृष्ठको ‘शब्दकलाका नायक’ नामक हरि मञ्जुश्री सम्मानग्रन्थलाई डा. भोला थापा, डा. सुरेशराज शर्मा र भरत जङ्गमले थैलीबाट झिकेर संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । उक्त ग्रन्थको सम्पादन शारदाप्रसाद शर्मा र निर्मला श्रेष्ठले संयुक्त रूपमा गर्नुभएको थियो । समारोहमा सम्पादक शारदाप्रसाद शर्माले पुस्तकका बारेमा जानकारी गराउनुभएको थियो भने ग्रन्थका सम्पादक तथा समितिका सचिव निर्मला श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

पत्रकारलाई कदरपत्र प्रदान
शब्दयात्रा प्रकाशनले दुईजना काभ्रेली पत्रकारलाई २०७७ सालका लागि ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ । पत्रकार मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई उक्त कदरपत्र प्रदान गरिएको हो । 
कार्यक्रममा सम्मानित पत्रकारको चिनारी चयन समितिका संयोजकका रूपबाट शब्दयात्रा प्रकाशनका सदस्य तथा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गराउनुभएको थियो । 
सम्मानित पत्रकारद्वय मधुसूदन गुरागाईं र भगवती तिमल्सिनाले शब्दयात्रा प्रकाशनले प्रदान गरेको कदरपत्रले आफूलाई थप ऊर्जा प्राप्त भएको कुरा बताउनुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य हरिगोपाल प्रधानले व्यवस्थापन गर्नुभएको उक्त कदरपत्र शब्दयात्रा प्रकाशनले २०७० सालदेखि प्रदान गर्न थालेको हो । यो सम्मानपत्र हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका दुईजना सक्रिय पत्रकारलाई प्रदान गर्ने गरिएको छ । 
पत्रकारिता छात्रवृत्ति प्रदान
शब्दयात्रा प्रकाशनले २०७७ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ काभ्रे बहुमुखी क्याम्पसको स्नातक तह प्रथम वर्षमा पत्रकारिता विषय अध्ययनरत छात्रा सुजाता तिमल्सिनालाई प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा आयोजित विशेष कार्यक्रममा छात्रवृत्तिका आर्थिक व्यवस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि प्रर्वप्रशासक तथा लेखक द्रोणप्रसाद श्रेष्ठले दस हजार रुपियाँ नगद र प्रमाणपत्रसहित सुजाता तिमल्सिनालाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । उक्त छात्रवृत्तिका लागि द्रोणप्रसाद श्रेष्ठले आफ्नी दिवङ्गत धर्मपत्नी श्रीमती मनका श्रेष्ठको स्मृतिमा अक्षयकोष राख्नुभएको थियो । 
कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो । 
शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लामा पत्रकारिता विषय अध्ययनरत काभ्रे जिल्लाकै गरिब तर जेहेन्दार एउटी छात्रालाई शिक्षालयको सिफारिसमा हरेक वर्ष दस हजार रुपियाँ छात्रवृत्ति प्रदान गर्ने गरेको छ । २०७६ सालदेखि ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ प्रदान गर्न थालिएको हो । काभ्रेपलान्चोक जिल्लामा महिला पत्रकारको सङ्ख्या बढाउन यो छात्रवृत्तिले भूमिका खेल्ने कुरामा शब्दयात्रा प्रकाशनले विश्वास राखेको छ ।