2026 April 24/ 12:15: 39am

    काठमाडौ/काभ्रे सेवा समाजको आठौ बार्षिक साधारण सभा तथा अधिबेशनले नयाँ समिति चयन गरेको छ । नारायण महतको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । 
    समितिमा वरिष्ठ उपाध्यक्ष जीवनप्रभा लामा, उपाध्यक्ष पूर्णसिंह खड्का, महासचिव मधुसुधन गुरागाई, कोषाध्यक्ष दिना श्रेष्ठ, सचि राघवसिंह थापा रहनु भएको छ । समितिमा अशोककुमार थापा, हेमकुमार श्रेष्ठ, मदनबहादुर क्षेत्री, गोविन्दप्रसाद गौतम, कमलप्रसाद तिमल्सिना, मणिराज श्रेष्ठ, लभराज जोशी, रेश्मा बुद्धाचार्य, उर्मिला कोइराला, सफला खड्का, राजानन्द माण्डव्य रहेका छन् । 
    लोक सेवा आयोगका निवर्तमान अध्यक्ष उमेशप्रसाद मैनालीले साधारणसभाको उद्घाटन गर्नु भएको थियो । अध्यक्ष केशव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व सचिव जनार्दन नेपाल लगायतका ब्यक्तिहरुले मन्तब्य राखेका थिए । संस्थाका महासचिव निभराज जोशीले महासचिवको प्रतिवेदन पेश गर्नु हुँदै कार्यसमितिले तय गरेको वार्षिक योजना अनुसारका कार्यक्रमहरु कोभिड–१९ का कारण अभियानकै रुपमा सञ्चालन गर्न नसकिए पनि सुरक्षा मापदण्ड अपनाएर सीमित उपस्थितिमा सञ्चालन गरिएको जानकारी दिनु भयो । संस्थाले यस अवधिमा जिल्लास्थित विद्वतवर्गहरुसँग साक्षात्कार, काभ्रे, काठमाडौं उपत्यका र सो बाहिर रहेका काभ्रेलीहरुको विवरण संकलन, सम्पर्क सूत्र विस्तार, विभिन्न कालखण्डमा काभ्रेका लागि योगदान गरेका पूर्वजहरुबारे अध्ययन, अनुसन्धान र उहाँहरुको व्यक्तित्वको प्रचार प्रसार गरिएको जानकारी दिनुभयो ।
    संस्थाकी कोषाध्यक्ष नारायणी केसीले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुहुँदै काभ्रेली कथाकार गुरुप्रसाद मैनालीको सालिक निर्माण, सगरमाथा आरोहण सहयोग र कोरोना महामारीमा अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाज, काभ्रेले संयुक्तरुपमा काभ्रेस्थित जिल्ला विपद् व्यवस्थापन समितिलाई १५ सय जोर पञ्जा, ५ लिटर स्यानिटाइजर, डिस्पोजेबल मास्क ५ हजार ८ सय ३० वटा र भकुण्डेबेसी, बनेपा प्रहरी चौकी र जनस्वास्थ कार्यालय, पाँचखाललाई ३ थान इन्फ्रारेड थर्मोमिटर उपलब्ध गराएको जानकारी दिनु भयो । यस्तै, नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई भेनस मास्क ५० थना र १०० मिलीको स्यानिटाइजर ५० बोतल उपलब्ध गराएको बताउनु भयो ।  संस्थाका अध्यक्ष केशव थापाले सभाका सहभागीहरु तथा अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुहुँदै काभ्रे सेवा समाज नै जिल्ला र जिल्लाबाहिर रहेका काभ्रेलीहरुलाई जोड्ने सेतु बनेको भनाई राख्नु भयो । उहाँले भन्नुभयो, ‘आफ्नो जिल्लालाई माया गर्ने धेरै काभ्रेलीहरुले जिल्लासम्म पुग्ने उपयुक्त माध्यमहरु नपाइरहुन भएको अवस्थामा संस्थाले आवश्यकता पहिचानसहित संभाव्य योजनाहरु, सामाजिक सेवाका क्षेत्रहरुबारेमा यथेष्ट जानकारीहरु उपलब्ध गराउँदै आएको छ ।’