काभ्रे/अक्षरमार्गको आठौं बार्षिक उत्सवको अवसरमा पाँच जना स्रष्टाहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने स्रष्टहरूमा विष्णुहेम अक्षरमार्ग बरिष्ठ साधक सम्मानबाट बरिष्ठ साहित्यकार तथा पत्रकार श्रीओम श्रेष्ठ रोदन, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मानबाट वियोगी बुढाथोकी, नरबहादुर अक्षरमार्ग सम्मानबाट विष्णु सिंह राई, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सुरेन्द्र अस्तफल, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट तारा के.सी. रहनुभएको छ । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि डा. तुलसी भट्टराईले सम्मान समर्पण गर्नुभएको थियो । उहाँहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान गर्नुभएको थियो ।
नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा समर्पित अक्षरमार्ग साहित्यिक त्रैमासिकद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिदै वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले नेपाली साहित्यिक पत्रकारिताको ईतिहासमा अक्षरमार्गले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । साहित्यिक पत्रिका प्रकाशित गर्नु राष्ट्र«का स्रष्टाहरुलाई सम्मान गर्नु र समाजमा चेतना पैmलाउने कार्य आपैmमा महान कर्म हो, यो कुनै उद्योग वा व्यापार नभई राष्ट्र सेवा हो भन्नुभयो । भट्टराईले साहित्यको कर्मबाट समाज उज्यालो हुने कुरा बताउनु भयो ।
कार्यक्रममा सम्मानित स्रष्टा श्रीओम श्रेष्ठ रोदनले साहित्य पैसाभन्दा माथिको कुरा हो । साहित्यमा त्याग, तपस्या, बलिदानको ठूलो महत्व छ । बिना साधनाको साहित्य पानीको फोका जस्तै हुने र अक्षरमार्गको योगदान नेपाली साहित्यमा उल्लेखनीय रहेको कुरा उहाँले बताउनु भयो । सोही समारोहमा वियोगी बुढाथोकी, विष्णु सिह राइ, सुरेन्द्र अस्तफल, तारा केसीले आ– आफ्ना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा अतिथि मन्तब्य वरिष्ठ साहित्यिकार मोहन दुवाल, सूर्यप्रसाद लाकोजू, रत्नप्रसाद अनामणि, डा. पुष्करराज भट्ट, गार्गाी शर्माले ब्यक्त गर्नुभएको थियो ।
समारोहमा मुक्तकमा समवेत स्वरहरू नामक मुक्तक सङ्ग्रह पनि लोकार्पण गरिएको थियो । उक्त मुक्तक संग्रहमा १३६ जनाका मुक्तकहरू समाविष्ट छन् । प्रकाशित मुक्तकका बारेमा समालोचक डा. शैलेन्द्रप्रकाश नेपालले टिप्पणी गर्नुभएको थियो ।









