नाला/ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेको आयोजनामा संघको प्रथम जिल्ला अधिबेशन तथा जिल्ला सभा बनेपाका बयोबृद्ध ९९ बर्षीय राजेन्द्र जोशी प्रमुख आतिथ्यतामा तथा संघको अध्यक्ष सिद्धिबहादुर कर्माचार्यको सभापतित्व सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र जोशीले पानसमा दीप प्रज्वलन गर्नु भएर समुदघाटन गर्नु भएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष मणिराज श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो । संघको वार्षिक गतिबिधि सचिब भवानी जोशीले सभामा प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन र अनुमानित आय–ब्यय कोषाध्यक्ष रमेशकाजी श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य समाजसेवी दैवज्ञराज कायष्थले ज्येष्ठ नागरिकहरुलाई आरामदायी, स्वस्थकर र मनोरञ्जनात्मक वातावरणमा सेवा गरी वहाँहरुको मनोबल उच्च राख्नुपर्ने बताउनु भयो । कायस्थले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भ्रमण गर्नु भएर अनुभव बटुलेर ल्याएको चर्चा गर्नुभयो । त्यसैगरी कार्यक्रममा हरिप्रसाद रिजालले शंखुमा ६० जना ज्येष्ठ नागरिकहरुलाई शंखु साकोसबाट राहत उपलब्ध गराएको र भकुण्डे जय मंगलटारमा ज्येष्ठ नागरिक प्रतिष्ठानको भवन निर्माण गर्न सहयोग गरेको बताउनु भयो । उक्त प्रतिष्ठानका अध्यक्ष रमेशप्रसाद खनालले यथाशिघ्र भवन उद्घाटन गरेर ज्येष्ठ नागरिकहरुलाई समुचित सेवा प्रदान गर्ने समेत बताउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले जिल्लामा ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रे कसरी गठन भयो सो को ऐतिहासिक विवरण र ज्येष्ठ नागरिकहरुको मौलिक हक अधिकार, परिवार राज्य समाजबाट निर्वाह गर्नुपर्ने कर्तब्यहरुबारे सचेत गराउने, ज्येष्ठ नागरिकहरु हाम्रा अभिभावकहरु हुन्, सम्मानित वर्ग हुन् भन्ने भावनाको विकास गर्ने, जति सक्यो त्यति ज्येष्ठ नागरिकहरुको आर्शिबाद प्राप्त गर्न सक्यो भने देश पनि सुध्रिन्छ भाग्य पनि चम्किन्छ लगायतका सुझावहरु राख्नु भएको थियो ।
संघको बन्द सत्रले पुनः आगामी २ बर्षका लागी अध्यक्षमा सिद्धिबहादुर कर्माचार्यलाई चयन गरेको छ । त्यसैगरी उपाध्यक्ष मणिराज श्रेष्ठ, सचिव भवानी जोशी, कोषाध्यक्ष रमेशकाजी श्रेष्ठ र सदस्यहरुमा बिजयराम कर्माचार्य, सहदीप पलाञ्चोके, दैवज्ञराज कायष्ठ, हरिप्रसाद रिजाल, रमेशप्रसाद खनाल, पुनमाया ( श्रेष्ठ) कर्माचार्य, रुकमणी राजभण्डारी, रेणुका श्रेष्ठ, इन्दिरा भैल रहनु भएको छ ।









