चौकोट/महिलाद्वारा सञ्चालित काभ्रे जिल्लाकै उत्कृष्ट सहकारी लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं स्थापना दिवस पनौती नगरपालिकाकी उपप्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
दिवसको अवसरमा प्रमुख अतिथि बञ्जाराले लक्ष्मी महिला साकोस जिल्लाकै उत्कृष्ट साकोस रहेको बताउनु भयो । महिलाहरुद्वारा सञ्चालित उक्त साकोसले महिलाहरुको आयस्तर उकास्नका लागि ठुलो भुमिका रहेको बञ्जाराले बताउनु भयो । महिला दिदिबहिनीहरुले आफ्नो थोरै रकम बचत गरी आत्मनिर्भर हुन सहयोग गरेको र ब्यापार ब्यबसायमा समेत सहयोग पुगेको हुँदा सहकारीको ठुलो महत्व रहेको बताउनु भयो । सिपमूलक तालिम, विभिन्न ब्यबसायमा आर्थिक सहयोग, नेतृत्व विकास आत्मनिर्भर हुनका लागि सहकारीले खेलेको भुमिकालाई नगरपालिकाले उच्च मुल्यांकन गरेको बताउनु भयो । नगरपालिकाले यस्ता उत्कृष्ट सहकारीहरु सँग मिलि नगरबासीहरुको आयस्तर उकास्नका लागी सहकार्य गरी अगाडि बढने र विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको बञ्जाराले बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष श्रीधर उपाध्याय कुईकेल, सल्लाहकारका तिर्थमाया प्रधान लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका जेष्ठ सदस्य, जिल्ला सहकारी संघ लि., बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का पदाधिकारिहरुलाई सम्मान गरिएको थियो भने बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा १ दिने निःशुल्क स्वास्थ शिविर संचालन गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मैया महतको सभापतित्वमा सम्पन्न भएको थियो । त्यसैगरी लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले दुई दिने रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
कार्यशाला गोष्ठी चौवर्षिय योजना निर्माण गर्नका लागि क्षमता अभिवृद्धि गर्न सञ्चालन गरिएको संस्थाका प्रबन्धक मनोज रायले बताउनु भयो । नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रम सहकारीका कार्यसमिति सदस्य, शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।









