2026 April 23/ 11:18: 52pm

भट्टाका बारेमा नगर सभाले दियो समितिलाई अधिकार
नमोबुद्ध/नमोबुद्ध नगरपालिकाले आव्हान गरेको नवौं नगर सभाले नगरपालिकामा इँटा उद्योग विस्थापन पछि उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गरेको छ । 
काभ्रे इँटा उद्योग संघसँग वार्ता गर्न गठन गरिएको वार्ता समितिलाई अनुमोदन गरेको छ । बैठकले वडा नं. ५ का वडा अध्यक्ष वुद्धसिं तामाङको संयोजकत्वमा गठित इँटा उद्योग व्यवस्थापन वार्ता समितिलाई वार्तामार्फत इँटा उद्योगको समस्यालाई दीगो रुपमा समाधान गर्ने उद्देश्य अनुरुप आवश्यक पर्ने सबै अधिकार प्रत्यायोजन समेत गरेको छ । नमोबुद्ध ७ का वडा अध्यक्ष धर्मसिं लामाले वार्ता समिति अनुमोदन र अधिकार प्रत्यायोजनका लागि पेश गरेको प्रस्ताव नगर सभाले सर्वसम्मतरुपमा पारित गरेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिएका छन् । अब वार्ता समितिले नगर कार्यपालिकाले तोकेको कार्यशर्तको आधारमा इँटा उद्योगसम्वन्धी समस्यालाई दीगो रुपमा समाधान गर्न, उद्योगीले २०७५ पुस २७ गरेको प्रतिवद्धता अनुसार पुस २८ गते जिल्ला समन्वय समितिमा गरेको करार सम्झौता कार्यान्वयन गर्न र वातावरणमैत्री एवं उद्योगमैत्री नगर स्थापना गर्न तत्कालै वार्ता प्रक्रिया अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिएका छन् । वार्ता प्रक्रियामार्फत समस्या समाधान हुन नसकेमा अन्य विकल्पको खोजीका लागिसमेत नगरसभाले कार्यपालिकालाई अधिकार प्रत्यायोजन गरेको छ । वार्ता समितिमा वडाअध्यक्षहरु सञ्जीव ढकाल, कुलप्रसाद न्यौपाने, धर्मसिं लामा र रामकृष्ण उपाध्याय सदस्य रहेका छन् । 
नमोबुद्ध नगरपालिकाले नगरपालिकामा रहेका इँटा उद्योग विस्थापन गर्न २०७५ पुस २८ गते भएको नगरपालिका र उद्योगीबीचको करार सम्झौता कार्यान्वयनको क्रममा २०७६ भदौ ८ र ९ गते उद्योग विस्थापन गरेको थियो । यसबारे अदालतमा मुद्दा बिचाराधीन रहेकै अवस्थामा इँटा उद्योग सञ्चालनमा आउन लागेपछि यसबारे छलफल र आवश्यक निर्णयका लागि नगरपालिकाको नगरसभा बैठक आह्वान भएको हो ।