धुलिखेल/नेपाली सेना कल्याणकारी बोर्डको समन्वय र संयोजकत्व र नेपाली सेनाको ब्यवस्थापनमा जिल्लामा स्थायी बसोबास गर्ने नेपाली सेनाका भुतपुर्व सैनिक तथा भुतपूर्व सैनिकका एकल महिलाहरुलाई सम्मान गरिएको छ । कालीजंग धुलिखेलमा आयोजित कार्यक्रममा उक्त सम्मान गरिएको हो ।
सम्मेलनमा बाहिनीपति विष्णु राउत, गणपति मिलन थापा लगायतले कालीजंग गण धुलिखेलमा आयोजित सहायक शिविरमा सम्मान प्रदान गर्नु भएको थियो । जिल्लामा स्थायी बसोबास गर्ने २ हजार ७ सय भुतपुर्व सैनिक मध्ये २ हजार ३ सय ३७ जनाले कालीजंग गणमा नामावली दर्ता गराउनु भएको थियो । आगामी चैत्र २२ गतेसम्म नामावली टिपाएका ब्यक्तिहरुलाई सम्मान गर्ने योजना बनाएको कालीजंग गणले पहिलो दिन अर्थात चैत्र १८ गते बुधबार ३ जना भुतपूर्व अपाङ्गता भएका सैनिकहरुलाई ह्विलचियर वितरण गरिएको थियो । प्रमुख अतिथी २६ नम्वर बाहिनी भकुण्डेका बाहिनीपति विष्णु राउत र कालीजंग गणका गणपति कर्णेल मिलन थापाले संयुक्त रुपमा ह्विलचियर वितरण गर्नु भएको थियो ।
कालीजंग गणमा आयोजित सहायक शिविरमा भुतपूर्व महिला तथा एकल महिलाहरुसँग अन्र्तक्रिया गरिएको थियो । भुतपूर्वहरुका समस्या र भोगाईका बारेमा भएको अन्र्तक्रियाले आगामी दिनमा थप योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ । सहभागिहरुलाई सैनिकहरुले प्रयोग गर्ने ब्लाङ्गकेट, फस्टएड किट्स, टोपी लगायतका सामाग्रीहरु वितरण गरिएको कर्णेल मिलन थापाले बताउनु भयो ।









