धुलिखेल/सडक सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त जिल्ला घोषणा अभियानको पूर्व सन्ध्यामा एक दिन अभिमुखीकरण कार्यक्रम जिल्ला समन्वय समिति काभ्रेले धुलिखेलमा आयोजना गरेको छ । समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले कार्यक्रमको उद्घाटन गर्दै काभ्रेपलाञ्चोक जिल्लालाई सडकमा मानव मुक्त बनाउने सरकारको अभियानलाई तिब्र बनाउन स्थानीय सरकारको सक्रियता आवश्यक रहेको बताउनु भयो ।
स्थानीय सरकारलाई सडक मानवमुक्त बनाउँदै जिल्लालाई घोषणा गर्ने गरी तयारी गरिएको समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बताउनु भयो । कार्यक्रममा स्थानीय सरकारका प्रमुखहरु धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, गाउँपालिकाका प्रमुखहरु खानिखोलाका अध्यक्ष कृष्णबहादुर खुलाल, तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं लामा, उपप्रमुख एवं उपाध्यक्षहरु, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतम, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, समन्वय समितिका सदस्यहरु, पालिकाका जनप्रतिनिधिहरु, कार्यालय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
सोहि अवसरमा जिल्लामा सडकलाई मानवमुक्त बनाउने अभियानमा सेवा घर मार्फत सेवा उपलब्ध गराई रहने मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाई, सचिव विजयकुमार पोखरेल लगायतले मानव सेवा घरले प्रदान गरेको सेवा र उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो । घर परिवार, समाज र टोल मार्फत सडकमा मानव आउन नदिने गरी जिल्लालाई सडक मानवमुक्त बनाउने अभियानमा सक्रिय हुने निश्कर्ष निकालिएको थियो । धुलिखेल नगरपालिकाले सडक मानव मुक्त बनाउने अभियानमा विशेष सहयोग र भूमिका खेलेको सेवा घरका प्रमुख सुमित्रा चौलागाईले जानकारी गराउनु भयो ।









