नमोबुद्ध/नमोबुद्ध नगरपालिकामा १ सय २१ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा १ सय २१ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । नमोबुद्ध नगरपालिका, लायन्स क्लब अव काठमाडौं टेम्पल चण्डेश्वरी र लियो क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीले संयुक्तरुपमा शिविर आयोजना गरेका हुन् । शिविरको सहआयोजकको रुपमा काभ्रेपलाञ्चोक चेम्बर अफ कमर्श रहेको थियो ।
शल्यक्रिया अघि सात स्थानमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा मोतियाविन्दु पत्ता लागेका बिरामीको दुई दिनसम्म रेयुकाई आँखा अस्पताल बनेपाको भकुण्डेस्थित सेवा केन्द्रमा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । अस्पतालले भकुण्डेबेशी सेवा केन्द्रमा पहिलोपटक यति धेरै बिरामीको एकैपटक मोतियाविन्दुको शल्यक्रिया गरेको रेयुकाई मासुनागा आँखा अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिनु भयो । शर्माका अनुसार पहिलो दिन ५२ जना र दोस्रो दिन ६९ जनाको शल्यक्रिया गरिएको छ । नगरका विभिन्न स्थानमा आयोजना गरिएको शिविरमा १ हजार २ सय ७० जनाको परिक्षण र उपचार गरिएकोमा १ सय ७४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । दुई दिनसम्मको शिविरमा शल्यक्रिया गर्न नगएका बिरामीले रेयुकाई आँखा अस्पताल बनेपामा पुगेर निःशुल्क शल्यक्रिया गराउन सक्नेछन् । शल्यक्रियाका लागि गाउँगाउँबाट आएका बिरामीहरुले अस्पताल र आयोजकहरु प्रति आभार प्रकट गरेका थिए । शल्यक्रिया शिविरको समापन कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतको उपस्थिति रहेको थियो ।









