बनेपा/विहिबार दिउसो ३ बज्दै थियो । बनेपा नगरपालिकाको ब्यस्त चोक अरनिको राजमार्गको चारदोबाटो खण्डको छेउमा साँगितिक धुन बज्न थाल्यो । सामान्य मञ्च र सडक छेउमा राखिएका कुर्सिहरुमा मान्छेहरु भरिदै थिए । त्यो भन्दा धेरै सडकबाट साँगितिक धुन बजेसँगै हेर्नेहरुको घुँईचो लागिसकेको छ । त्यसको ब्यवस्थापन बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय बनेपाले गरिरहेका थिए ।
कोरोना तथा भुकम्प पछि ब्यक्तिहरुको भत्किएका, चर्किएका र धाँजा फाटिएका मनहरु शान्त पार्न प्रहरीले साँगितिक धुन बजाईरहेको थियो । त्यहि धुनसँगै प्रहरीहरुकै टोलीले सडक नाटक प्रर्दशन गरेको थियो । ब्यक्तिहरुको मन छचल्किँदा उसले लिने गलत बाटोले ब्यक्ति, परिवार, समुदाय, समाज र सिङ्गो राष्ट्र नै प्रभावित हुन सक्ने भन्दै प्रहरीले ब्यक्तिलाई नै सहि मार्गमा हिडाउन सकारात्मक सोचको आवश्यक रहेको निश्कर्ष निकालेको छ । सोहि योजना अनुसार विद्यालय जाने उमेरका बालबालिकाहरुलाई विद्यालय तह देखि नै सहि मार्गमा हिडाउन प्रहरीले देखाएको सडक नाटकले खवरदारी गरेको छ । सामान्य परिवारका ब्यक्तिहरु साथिहरुको लहैलहैमा गलत संगतमा पुग्ने, सार्वजनिक यातायातमा महिलाहरु माथी गलत दृष्टिकोणले दुब्र्यवहार गर्ने, सार्वजनिक स्थलमा मदिरा पिउने तथा सार्वजनिक यातायातमा काम गर्ने श्रमिकहरुले प्रयोग गर्ने मापसेका कारण परिवार र समाजमा परेको असरलाई न्युनिकरण गर्न नाटकले सन्देश दिएको छ ।
विद्यालय जाने उमेरका बालबालिकाहरु कक्षा सकिए लगत्तै साथिहरुको कारण गलत संगतमा पुग्छन् । उनिहरु पहिले चुरोट, त्यस पछि गाँजा, लागु औषधको चरम प्रयोगमा पुग्छन् । घरमा भएको रकम मागेर, चोरेर नभए अन्य सामाग्रीहरु पनि ल्याई लागु औषधको प्रयोगमा लागिरहेका छन् । अभिभावकहरुको प्रत्यक्ष निगरानी हुन नसक्नु, भए पनि वेवास्ता गर्नु, गरिवी तथा धनी ब्यक्तिहरुको सहज पहुँच यसका कारण हुन् । सडक नाटकले जीवन्त ब्यक्तिहरुको अभिनय गरी समाजमा लागु औषध पछिका समस्याहरुको उजागार गर्दै समाधानका लागि उपायहरु पनि सिकाएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बामगती प्रदेश प्रहरी हेडक्वाटर, लागु औषध विरुद्धको सचेतनामुलक सडक नाटक र साँगितिक धुन कार्यक्रम बनेपामा आयोजना गरिएको थियो । संघीय प्रहरी इकाई बागमतीका प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे लगायतका जनप्रतिनधिहिरु, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रहरीले लागु औषध विरुद्धको सचेतनामुलक नाटक र साँगितिक धुन प्रस्तुत गरेको जिल्लामा पहिलो पटक हो ।









