2026 April 23/ 08:28: 12pm

भकुण्डेबेशी/१११ औं अन्तर्राष्ट्रिय महिला दिवस नमोबुद्ध नगरपालिकाले भव्यताका साथ मनाएको छ । औपचारिक भाषणमै सीमित हुने महिला दिवस कार्यक्रम भन्दा पृथक कार्यक्रम सहित नगरपालिकाले दिवस मनाएको हो । 
बागमति प्रदेशसभा सदस्य गोमा भुर्तेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका सबै वडाका  महिलाको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा छोरी जन्माउनेलाई पाँच हजार रुपैयाँ प्रोत्सहन रकमको व्यवस्था गर्ने वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामा, शैक्षिक क्षेत्रबाट महिला सशक्तिकरणमा भूमिका निर्वाह गर्ने शिक्षिका चन्द्रादेवी खनाल, महिलाका लागि सेफ हाउस सञ्चालन गर्ने देवकी खनाल, सहकारीको माध्यमबाट महिलाको आर्थिक उन्नति र सशक्तिकरणमा भूमिका निर्वाह गर्ने भुवनेश्वरी श्रेष्ठ तथा नगरभित्रकै जेष्ठ महिला स्वास्थ्यस्वयंसेविका ठूलीमाया तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद गोमा भुर्तेल, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, युवा नेतृ पवित्रा भुर्तेल महिला हिंसा न्यूनिकरणमा सबै पक्ष लाग्नुपर्ने भन्दै महिलाको सशक्तिकरणका लागि अझै सक्रिय हुनुपर्ने बताउनु भएको थियो ।  
कार्यक्रममा उपप्रमुख रामदेवी तामाङको सभातित्व तथा महिला तथा बालबालिका शाखा प्रमुख तारा सुनुवारको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य जानुका पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो । नगरका विभिन्न ठाउँबाट महिलाहरुले सचेतनामुलक ¥यालीसमेत निकालेका थिए ।
नमोबुद्ध नगरपालिकाले महिला दिवस मनाउनुअघि नगरपालिकाका ११ वटै वडामा लैंगिक हिंसा न्यूनिकरणका विषयमा प्रशिक्षण कार्यक्रमसमेत गरेको थियो ।