2026 April 23/ 08:29: 23pm

    बनेपा/बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले नगरका ग्रामिण बस्तीमा दुःख, कष्ट, विभेद, अनेक प्रकारका समस्या झेलिरहेका महिला समुदायको समस्या समाधान गर्न स्थानीय सरकार प्रयत्नरत रहेको बताउनु भएको छ । 
    विश्वभरका महिलाहरुको महान उत्सव १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै बादे श्रेष्ठले जनसंख्याको आधा हिस्सा ओगटेका महिलाले हरेक क्षेत्रमा पुरुष सरह समान अवसरको उपभोग गर्न पाउने वातावरण तयार गर्नु सबैको दायित्व रहेको बताउनु भयो  ।
    कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले ‘लोकतान्त्रिक गणतन्त्र नेपालको लागि विभिन्न कालखण्डमा भएका आन्दोलनको बलमा बनेको नेपालको संविधानले प्रत्येक महिलालाई विना भेदभाव समान वंशीय हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति एवं पारिवारिक मामिलामा समान हक लगायतका अधिकार सुनिश्चित गरेको बताउनु भयो । ‘संविधानप्रदत्त हक अधिकारको सुनिश्चितता गर्न गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य र रोजगारीको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्दै सामाजिक पछौटेपन, अन्धविश्वास र कुरीतिका कारण महिलाले भोग्नुपरेका समस्या अन्त्यका लागि नगरपालिकाले प्रयास गरिरहेको छ’– उपप्रमुख सापकोटाले बताउनु भयो । 
    कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेतिले दलित, आदिबासी, महिलाहरुका लागी विशेष तालिम, क्षमता विकास र सिपमुलक तालिम प्रदान गर्दै लक्षित वर्गलाई समेटिएको बताउनु भयो । योजना बनाउदै र निति कार्यक्रममा नै महिलाहरुलाई विशेष प्राथमिकतामा राखिएको उप्रेतिले बताउनु भयो । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ शाखा अधिकृत बिजया सुबेदी, कार्यपालिका सदस्य राजनकुमारी बैदार, महिला नेतृ निर्मला काफ्ले लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम नगरपालिका उप प्रमुख रेखा दाहाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।