धुलिखेल/जिल्ला बाल संगठन काभ्रेका अध्यक्ष बिदुर हुमागाँईले पदभार ग्रहण गरेका छन् । धुलिखेलस्थित कार्यालयमा एक कार्यक्रमका बिच उनले पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, धुलिखेल नगरपालिका कार्यबाहक नगर प्रमुख विमला शर्मा, नेपाल पत्रकार महासंघका काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, प्रेस संगठन काभ्रेका अध्यक्ष भुवन रायमाझी लगायतको उपस्थिती रहेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष हुमागाँईले काभ्रे जिल्लालाई बालमैत्री जिल्ला घोषणा गर्ने पहिलो लक्ष्य रहेको बताएका छन् । यसका लागि सम्बन्धित स्थानीय तहमा समन्वय गरेर कार्यक्रम गर्ने उनले बताएका छन् । बालविवाह रोक्नु नै अहिलेको प्रमुख चुनौती रहेको उनले बताए । अभिभावकहरुसँग छलफल गर्ने र सचेतनाका कार्यक्रम गर्दा मागेर गरिने बाल विवाह रोकिएपनि सामाजिक सन्जाल मार्फत चिनजान भएकै कारण भागेर हुने विवाह रोक्न कठिन हुन सक्ने अध्यक्ष हुमागाँईको भनाई छ । यसका लागि विद्यालय तहदेखी विभिन्न कार्यक्रम गर्दै जाने उनले प्रतिवद्धता जनाएका छन् । तत्काल काम गर्नका लागि कर्मचारी अभाव रहेकाले त्यसको व्यवस्थापन गरिदिन पनि उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मौलिक हकमा नै बालबालिकाको हक उल्लेख गरिएकाले व्यवहारिक रुपमा कार्यान्वयनमा जोड दिनु पर्ने बताएका छन् । बालबालिकालाई महत्वपुर्ण जिम्मेवारी नदिने गरीएको भन्दै उनले अब हरेक कार्यमा बालबालिकाको सहभागिता अनिवार्य गर्दै उनीहरुका लागि उनीहरुकै सहभागितामा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय प्रमुख उद्धव केसीले बालबालिकाको लागि कति बजेट विनियोजन भएको छ, त्यसको सदुपयोग भएको छ कि छैन मुल्यांकन गरेर हरेक स्थानीय तहमा त्यसै अनुसार कार्यक्रम बनाउनुपर्ने बताएका छन् । यस्तै धुलिखेल नगरपालिकाकी कार्यबाहक नगर प्रमुख बिमला शर्माले बालश्रम, बालबालिकामाथी हुने दुव्र्यवहार न्युनीकरणमा जोड दिन सबैलाई आग्रह गरेकी छन् ।
कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्ला बाल संगठनले बालमैत्री जिल्ला घोषणाका लागि तिव्र रुपमा काम गर्ने विश्वास लिएका छन् । पदभार ग्रहण गर्दै हुमागाँईले आफुले नियुक्त गर्न पाउने दुईजना सदस्य मध्ये संजीव न्यौपानेलाई नियुक्त गरेका छन् । छलफल पश्चात थप एक जना नियुक्त गर्ने पनि उनले जानकारी दिए ।









