2026 April 23/ 08:29: 22pm

    पनौती/पनौती नगरपालिका वडा नम्बर १२ मा रहेको भालेश्वर मन्दिर ओझेलमा परेको भन्दै स्थानीयले चिन्ता गरेका छन् । अत्याधिक पैसा खर्च गरेर काठमाण्डौंको चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिर प्रमुख भन्दै भ्रम फैल्याइएको उनीहरुको आरोप छ । 
    विं.स.१८७१ देखी १८७९ मा नै यस ठाउँमा मन्दिर स्थापना गरी पुजाआजा सुरु गरिएको ६२ वर्षदेखी पुजापाठ गर्दै आउनुभएका पुजारी माधवप्रसाद जंगमले जानकारी दिनुभयो । रोसमती, लिलावती र शुखसर्भावतीको संगम स्थलमा भालेश्वर मन्दिर छ । महादेवले सतिदेवीको मृत शरिर बोकेर हिँड्ने क्रममा यहाँ आइपुग्दा भाल अर्थात तालु पतन भएको धार्मिक ग्रन्थमा उल्लेख छ । संरक्षण समिति नै बनाएर धार्मिक ऐतिहासकि महत्वमा असर नपर्ने गरी मन्दिर संरक्षण र संरचना निर्माणको काम भइरहेको नगर प्रमुख भिम न्यौपानेले बताउनुभयो । ठाउँको नाम नै भालेश्वर हुनु, धार्मिक ग्रन्थमा उल्लेख विषयहरु पनि पनौतीको भालेश्वर मन्दिर सँग मिल्नु तथा विभिन्न समयका लेखहरुका आधारमा पनि प्रमुख भालेश्वर पनौतीकै भएको उहाँको दाबी छ । 
    भालेश्वर मन्दिरको दर्शन गरेपछि नबोल्ने मानिस पनि बोल्ने हुनुका साथै सन्तान प्राप्ति समेत भएको भक्तजनले बताएका छन् । बाला चतुर्दशी, शिवरात्री लगायतका अवसरमा यहाँ मेला लाग्ने गर्दछ । पनौतीको भालेश्वरमा शिवको वास्तविक शिला भएपनि चन्द्रागिरिमा कुँदेर बनाइएको पुजारी जंगमले बताउनुभयो । भक्तजनहरुले पनि वास्तिविक भालेश्वर मन्दिर पनौतीकै रहेको धेरै प्रमाणहरु देखिएको बताएका छन् ।