2026 April 23/ 08:28: 11pm

    धुलिखेल/महिला तथा किशोरी शिक्षामा पहुँच मार्फत चेलिबेटी बेचविखन नियन्त्रण सम्वन्धी जिल्ला परियोजना सल्लाहकार समिति बैठक जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न भएको छ । अमेरिकन हिमालयन फाउण्डेशन तथा अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्र र ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठीको आयोजनामा उक्त बैठक सम्पन्न भएको थियो । 
    डा. अरुणा उप्रेती, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतम, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, डिएस्पी कुमारविक्रम थापा, अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्रका अस्पताल ब्यवस्थापक प्रकाश यादव लगायतले कार्यक्रम र त्यसको प्रभावकारीताका बारेमा जानकारी गराउनु भएको थियो । अपाङ्ग भएका बालबालिकाहरुको उपचारका लागि अमेरिकन हिमालय फाउण्डेशन मार्फत काभ्रेमा रहेको उक्त अस्पताललाई बार्षिक कुल बजेटको ४९ प्रतिशत बजेट प्राप्त हुने गरेको छ । उक्त बजेट मार्फत बालबालिकाहरुको उपचारमा सहजिकरण भएको ब्यवस्थापक यादवले बताउनु भयो । उक्त अस्पतालमा बालबालिकाहरु अध्यययन गर्ने विद्यालय पनि छ । शारिरिक रुपमा मात्र सक्षम नबनाई मानसिक रुपमा पनि सक्षम बनाउने उदेश्यले बालबालिकाहरुलाई विद्यालय भित्रै शिक्षा र अन्य विषयमा जानकारी गराउने गरिएको यादवले बताउनु भयो । 
    कार्यक्रममा महिला तथा किशोरी शिक्षामा पहुँच मार्फत जिल्लाका पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाका १९ वडामा रहेका विद्यालयहरुमा अध्ययन गर्ने विपन्न तथा जोखिम वर्गमा रहेका छोरीहरुलाई सहयोग उपलब्ध गराएको छ । कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ५ सय ३३ जना र कक्षा ११ तथा १२ अध्ययन गर्ने १ सय ३२ जना गरी कुल ६ सय ६५ जनालाई अध्ययनका लागि सम्पूर्ण खर्च उक्त कार्यक्रम मार्फत ब्यवस्थापन गरिएको छ । बालबालिकाहरुको अध्ययनका साथै थप कक्षाहरुका लागि आवश्यक पर्ने रकम, डेरा भाडा, यातायात खर्च तथा सम्र्पक गर्दा लाग्ने मोवाईलमा लाग्ने खर्च समेत उक्त कार्यक्रम मार्फत उपलब्ध गराईएको छ । सोहि कार्यक्रममा मुना थापा, एलिना सुनुवार, प्रविण गौतमले महिला तथा किशोरी शिक्षामा पहुँच मार्फत आफुलाई पुर्नजिवन प्राप्त भएको छ ।