बनेपा/परम्परागत शैलीको नयाँ आयामलक्ष्मी प्रतिष्ठानद्वारा काभ्रेपलान्चोक जिल्लाको चौरी देउराली गाउँपालिका तथा चितवन जिल्लाको राप्ति १३ कान्दामा सिमान्तकृत, गरिब तथा असहाय बालाबालिकहरुका लागि निःशुल्क संचालन गरिएको कुमार बलराम स्मृति छात्रावास परिसरको काभ्रे परिसरमा परम्परागत सामग्रीहरुको प्रयोग गर्दै जीवन अगाडी बढाइएका जीवन्त दृश्य देख्न पाइने छ । देश विदेशबाट आउनु हुने अतिथीहरु लगायत विभिन्न कलेज तथा विद्यालयहरुका युवा तथा बालबालिकाहरुलाई आमन्त्रण गरी प्रदर्शन तथा प्रयोग गर्न लगाइने सामग्रीहरुमा हलो जोतेर बिउ रोप्ने देखि मोही पार्ने घाँस काट्ने, ढिकी कुट्ने, दाउरा काट्ने, जाँतो पिंध्ने, तोरी पेल्ने, खलाँती चलाउने, दमाहा बजाउने, सहनाई, कर्णाल फुक्ने, दाईं गर्ने, गाई बस्तुलाई घाँस काटेर खुवाउने, पशु पन्छीलाई चारा हाल्ने समेत अभ्यासमा सहभागी गराइनेछ । नेपालीहरुको मौलिक खानाहरु ढिंडो (कोदो, फापर, मकै), रोटी (पानी, ढुंगे, भुन्ग्रे, तावा, तैलिय) गुन्द्रुक, खोले, च्याँख्ला, जाउलो, खिचडी, मकै, भटमास, गहुँ केराउ, जुनेलो, फर्सी, सखरखण्ड, स्कुस, चिउरा कन्दमुल, पोलेको भुटेको उसिनेको, फलफुल (सिजन अनुसार फलेका) जाम, जुस, दहि, दुधदेखि लिएर मोही र महसम्म आफैले तयार गरी खाने वातावरण बनाइएको छ । परम्परागत शैली अपनाउँदै अत्यधिक मात्रामा आफ्नै बारीको उखुको जुस तथा खुदो प्रयोग गरिने छ । झुलो चकमकद्वारा निकालिएको आगोमा सल्काईएको दियो, दियालो वा टुकीको प्रकाशमा छाप्रोमा (टांड माथि वा जमीनमा) गुन्द्री र सुकुलमा सुत्ने अनुभव देखी राडी पाखीको प्रयोगसम्म गराइने छ । मौसम अनुसारको खेतीमा सहभागी भएर त्यसको अनुभुत गर्न सकिने छ । थप मनोरञ्जनका लागि परम्परागत खेलकुद जस्तै कबड्डी, कुस्ती, डण्डी बियो, बाघचाल, धनुषवाण, घुँयत्रो आदिको आनन्द लिनुका साथै योगा, मेडिटेशन, झाँक्री नाच, खैजडी नाच, तामाङ सेलो (तामसालिङ्ग क्षेत्र भएकाले), लोक नाच, दोहोरी गीतको आनन्द सहित, रोटे पिङ, लिङ्गे पिङ आदिको आनन्द लिन पाइने छ । छात्रावास परिसर प्रवेश गर्दा पन्चे बाजाको सांगीतिक स्वरले स्वागत गरिने र बिदाई हुँदासम्म अद्भुत अनुभूतिसँगै मायाको चिनो प्रदान गरी विभिन्न जातजातीका मनोरम संस्कृतिको आनन्दित वातावरणसँगै बिदा गरिने गरिने छ ।









