2026 April 23/ 08:27: 49pm

समस्या र चुनौती विषयक अन्र्तक्रिया
    बनेपा/नेपाल कपडा तथा सिलाई ब्यवसायी संघले वर्तमान परिप्रेक्षयमा सिलाई ब्यवसाय क्षेत्रको समस्या र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रम बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै नगर उपप्रमुख सापकोटाले नगरपालिकाले नीति र योजना निर्माण गरी बजेट कार्यान्वयन गरी नागरिकहरुलाई समृद्ध बनाउने अभियानमा लागिरहेको बताउनु भयो । स्वरोजगार मुलक उद्यमी र उद्यमशिलताका लागि सिप सिकाउने कार्यमा नगरपालिकाले योजनाहरु निर्माण गरी कार्यान्वयन गरिरहेको बताउँदै उपप्रमुख सापकोटाले सिलाई क्षेत्रका लागि एडभान्स कटिङ्ग तालिम आवश्यक रहेको बताउनु भयो । सोहि कार्यक्रमका लागि १ लाख रुपैयाँ विनियोजन गर्ने नगर उपप्रमुख सापकोटाले घोषणा गर्नु भयो । 
    कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले दक्ष जनशक्ति उत्पादनका लागि सिप प्रशिक्षणलाई ध्यान दिन सुझाव दिनु भयो । नेपालमा बार्षिक कामदारको हकमा ४ खर्ब भन्दा धेरै रकम विदेशिने गरेकाले विदेशिने पुँजी र श्रमलाई नै नेपालमै रोकी गुणस्तरीय र दक्ष जनशक्ति तयार गर्न जोड दिनु भयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, संघका सह कोषाध्यक्ष प्रेमकुमार महर्जन, राष्ट्रिय प्रशिक्षक मिलन नेपाली, बागमती प्रदेश अध्यक्ष जितबहादुर श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य भवानी जोशी, जिल्ला अध्यक्ष सुबासना श्रेष्ठ लगायतले सिलाई ब्यवसायीहरुको समस्या र चुनौतीलाई समाधान गर्न सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनु भएको थियो । जिल्ला अध्यक्ष रघु कपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव तेज नेपालीले संचालन गर्नु भएको थियो ।